विदेश

विजयी सम्बोधनमा बाइडनले गरे एकता र सहकार्यका लागि आव्हान

हिमालय टिभी
२०७७ कार्तिक २३ गते ९:०४
विजयी सम्बोधनमा बाइडनले गरे एकता र सहकार्यका लागि आव्हान

२३ कात्तिक, २०७७ न्युयोर्क । अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित जो बाइडनले आफ्नो विजयी सम्बोधनमा एकता र सहकार्यका लागि आह्वान गरेका छन्।

गृह राज्य डेलवरको विलमिङ्गटनबाट सम्बोधन गर्दै उनले अमेरिकी नागरिकले मतमार्फत आफ्नो आवाज दिएको र त्यो एकता तथा सहकार्यका लागि रहेको बताए ।

उनले आफू डेमोक्रेटिक भएकोमा गर्व रहेपनि आफू सबै अमेरिकीको राष्ट्रपति बन्ने बताए । सम्बोधनको क्रममा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम लिँदै उनले हामी विपक्षी भए पनि शत्रु नभएको दाबी गरे । उनले आफूले पनि केही चुनावमा हार व्यहोरेको र त्यसको पीडा थाहा रहेको बताउँदै सेवाका लागि अवसर दिन आग्रह गरे ।

त्यस्तै उनले मतभेदलाई पाखा लगाएर जनताको सेवाका लागि सहकार्य गर्नुपर्ने बेला आएको र त्यसको सन्देश चुनावमार्फत अमेरिकीले दिएको भन्दै सिनेट तथा हाउसमा रहेका रिपब्लिकनहरुलाई सहकार्यका लागि अपिल गरे।

उनले चुनावको नतिजाले सत्य, सम्भाव, सम्भावना र एकताको सन्देश दिएको बताए। ट्रम्पलाई पराजित गर्दै बाइडन आगामी राष्ट्रपति बन्ने निश्चित भएसँगै अमेरिकाका शहरहरुमा समर्थकले विजय उत्सव मनाएका छन्।

बाइडनले पेन्सिलभेनिया तथा नेभाडाको नतिजा आफ्नो पक्षमा पारेसँगै राष्ट्रपतिमा निर्वाचित हुनका लागि चाहिने २ सय ७० इलेक्टोरल कलेज मतको आँकडा पारे गरेका हुन् ।

अमेरिकामा राष्ट्रपति निर्वाचनका लागि नोभेम्बर ३ मा मतदान भएको थियो। कोरोना भाइरसको महामारीका कारण यो वर्ष १० करोड भन्दा बढि अमेरिकीले अग्रिम मतदान गरेका थिए।

उनीसँगै उपराष्ट्रपतिमा कमला ह्यारिस विजयी भएका छन्। ह्यारिस अमेरिकाको इतिहासमा उपराष्ट्रपतिमा निर्वाचित हुने पहिलो महिला र पहिलो अश्वेत महिला हुन्। त्यस्तै अमेरिकाको इतिहासमा बाइडन सबैभन्दा धेरै मत पाएर राष्ट्रपतिमा निर्वाचित हुने व्यक्ति बनेका छन्।

उनले सात करोड ४५ लाखभन्दा बढी अमत ल्याएको बताइएको छ । बाइडन निर्वाचित भए पनि ट्रम्पले त्यसलाई स्वीकार गरेका छैनन् र उनले बाइडनलाई बधाई दिन अस्वीकार गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।

उनले लगातार धाँधलीको आरोप लगाएका छन् र आफूबाट नतिजा खोसिएको आरोप लगाउँदै आएका छन्। तर त्यसको कुनै पनि प्रमाण भने अहिलेसम्म नभेटिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *