विदेश

बाइडेन चार राज्यमा अगाडि, जितको घोषणा नगर्न ट्रम्पको चेतावनी

हिमालय टिभी
२०७७ कार्तिक २२ गते १५:०८
बाइडेन चार राज्यमा अगाडि, जितको घोषणा नगर्न ट्रम्पको चेतावनी

२२ कात्तिक, २०७७ न्युयोर्क। अमेरिकामा राष्ट्रपति चयनका लागि भएको निर्वाचनबाट पूर्व उपराष्ट्रपति जो बाइडेन निर्वाचित हुने संभावना बलियो हुदै गएको छ ।

देशका कुल ५० राज्य मध्ये मत गणना सम्पन्न भएका ४४ राज्यमा बाइडेन विजयी हुनु भएको छ भने अहिले मतगणना भइरहेका चार राज्यमा पनि उहाँको फराकिलो अग्रता रहेको छ ।

सबैभन्दा धेरै इलोक्टोरल मत रहेको र लामो समयसम्म ट्रम्पले अग्रता लिइरहेको पेन्सिल्भानियामा पनि बाइडेनले ट्रम्पलाई पछाडि पार्नु भएको छ । अहिले गणना भइरहेका छ मध्ये यो पेन्सिल्भानियामा मात्रै विजयी भएपनि बाइडेन राष्ट्रपतिमा निर्वाचित हुनुहुनेछ ।

अमेरिकामा राष्ट्रपति निर्वाचित हुन २७० इलोक्टोरल मत चाहिनेमा पेन्सिल्भानियामा मात्रै जिते पनि बाइडेनको कुल २७३ इलेक्टोरल मत हुनेछ । त्यसबाहेक नतिजा आउन बाँकी रहेकामध्ये जर्जिया, नेभाडा र एरिजोनामा पनि बाइडेनको अग्रता कायमै रहेको छ । ट्रम्पको अग्रता भने नर्थ क्यारोलाइना र अलास्कामा मात्रै रहेको छ । त्यसैगरी अब गन्न बाँकी हुलाकमार्फत आएका मतमा पनि बाइडेनको अग्रता कायमै रहन सक्ने आकलन गरिएको छ ।

अहिलेसम्मको अवस्थालाई हेर्दा ट्रम्प पुनः राष्ट्रपतिमा निर्वाचित हुने संभावना लगभग सकिएको धेरैले दाबी गरेका छन् । तर ट्रम्प पक्षले भने निर्वाचनको अन्त्यसम्ममा आफूहरुले नै जित्ने दाबी गर्न छाडेका छैनन् । आफू पराजित हुने देखेपछि प्रतिश्पर्धामा रहनु भएका वर्तमान राष्ट्रपति ट्रम्पले निर्वाचनमा धाँधली भएको दाबी गर्दै आउनु भएको छ ।

मतदान र मतगणनामा धाँधली भएको भन्दै उहाँले तत्काल मतगणना रोक्न माग गर्दै अदालतमा उजुरी पनि दिनुभएको थियो । तर उहाँको उजुरीहरु अदालतले खारेज गरिदिएको छ । उहाँले लगाएको आरोप पुष्टि गर्नेगरी प्रमाणहरु नपुगेकाले ट्रम्प पक्षधरद्धारा दर्ता गरिएको उजुरी खारेज गरिदिएको अदालतले जनाएको छ ।

अन्तिम नतिजा आउनै लाग्दा उहाँले दिएका अभिव्यक्तिका कारण धेरै अमेरिकीहरुले उहाँको आगामी कदमको बारेमा आशंका र चिन्ता व्यक्त गरेका छन् । राष्ट्रपति ट्रम्पले निर्वाचन अझै नसकिएकाले तत्काल आफू विजयी भएको घोषणा नगर्न बाइडेनलाई चेतावनी दिनुभएको छ । उहाँले हुलाकबाट आएको मत र धाँधली भएका ठाउँहरुको बारेमा विवाद नटुंगिदासम्म विजयी भएको दाबी गर्न नमिल्ने तर्क गर्नुभयो ।

तर बाइडेनले भने आफू विजयी हुने सुनिश्चित भइसकेको दाबी गर्दै कार्यालय सम्हाल्ने तयारीमा रहेको बताउनु भएको छ । बाइडेनले सम्बोधन गर्दै स्पष्ट बहुमतसहित विजय हुनेतर्फ आफूहरू लम्किरहेको बताउनु भएको हो । उहाँले झण्डै तीन सय इलोक्टोरल मतका साथ आफू विजयी हुने पनि अनुमान सुनाउनु भयो ।

उहाँले कोरोनाभाइरसको सङ्क्रमण बढिरहेकाले आफ्नो राष्ट्रपति कार्यकालको पहिलो दिनदेखि नै यसैका बारेमा काम गर्ने जानकारी दिनुभयो ।अमेरिकामा पछिल्ला केहीदिन देखि दैनिक एक लाखभन्दा बढी मानिस कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *