१९ कात्तिक, २०७७ नयाँ दिल्ली । भारतको रिपब्लिकन टिभीका प्रधान सम्पादक अर्णव गोस्वामीलाई प्रहरीले पक्राउ गरेको छ।
गोस्वामीले सन् २०१८ मा ५३ वर्षीय एक इन्टेरियर डिजाइनरलाई आत्महत्या गर्न बाध्य पारेको आरोप छ। गोश्वामीलाई मुम्बईस्थित निवासबाटै पक्राउ गरेको प्रेस ट्रस्ट अफ इन्डियाले जनाएको छ।
प्रहरीले आफूलाई हातपात गरेको गोस्वामीले आरोप लगाएका छन्। रिपब्लिकन टिभीले गोस्वामीलाई भ्यानमा हाल्दै गरेको भिडियो सार्वजनिक गरेको छ ।
गत मेमा महाराष्ट्रका गृहमन्त्री अनिल देशमुखले सन् २०१८ को आत्महत्याको घटनाबारे नयाँ अनुसन्धान शुरु भएको जानकारी दिएका थिए।
रिपब्लिकन टिभीले तिर्नुपर्ने पैसा नदिएका कारण आफ्ना पिता र हजुरआमाले आत्महत्या गरेको इन्टेरियर डिजाइनरकी छोरीले आरोप लगाएकी छिन्।
विवादित छविका गोस्वामीले हरेक विषयलाई उत्तेजित पार्ने र अन्तरवार्ताका लागि बोलाइएका अतिथिसँग समेत गलत भावनाले कुरा गर्ने गरेका छन।
बेला बेलामा छिमेकी देशविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिँदै आएका गोस्वामीले नेपालको कालापानी लिपुलेकका बारेमा पनि विवादित सामग्री निर्माण र प्रशारण गरेका थिए ।