भारतको बिहार विधानसभा निर्वाचनअन्तर्गत आज दोस्रो चरणको मतदान
१८ कात्तिक, २०७७ पटना । भारतको बिहार विधानसभा निर्वाचन अन्तर्गत आज दोस्रो चरणको मतदान भइरहेको छ ।
बिहार विधानसभा निर्वाचनको दोस्रो चरणमा १७ जिल्लाका ९४ सिटका लागि मतदान भइरहेको हो । बिहार विधानसभामा २ सय ४३ सिट रहेको छ ।
आजको मतदानसँगै बिहार विधानसभामा आधाभन्दा बढी सिटको मतदान सकिनेछ । यस चरणमा १ हजार ४ सय ६३ उम्मेदवार चुनावी मैदानमा छन् । दोस्रो चरणमा दुई करोड ८६ करोडले मतदान गर्ने बताइएको छ।
यस निर्वाचनमा विपक्षका मुख्यमन्त्री उम्मेदवार तेजस्वी यादव, उनका दाई तेज प्रताप यादव लगायत अन्य नेता चुनावी दौडमा छन् । बिहारमा नीतिश कुमार चौथोपटक मुख्यमन्त्री बन्ने प्रयासमा छन् ।
उनलाई लालुप्रसाद यादवको अनुपस्थितिमा उनका कान्छो छोरा तेजस्वी यादवले चुनौति दिंदै छन् । सन् २ हजार १५ को चुनावमा यी ९४ सिटमा आरजेडी सबैभन्दा ठूलो पार्टी बनेको थियो ।
आरजेडीले ४५ दशमलव ३ प्रतिशत मत प्राप्त गरेको थियो । त्यसबेला आरजेडीले ३३, जेडियूले ३०, भाजपाले २०, कांग्रेसले ७, एलजेपीले २ तथा अन्यले दुई सिटमा जित हासिल गरेका थिए ।
यसअघि अक्टोबर २८ मा भएको पहिलो चरणमा ७१ सिटका लागि मतदान भइसकेको छ । तीन चरणमा हुने निर्वाचनको अन्तिम चरणको मतदान नोभेम्बर ७ तारिखमा हुनेछ।
प्रतिक्रिया