विदेश

युरोपमा कोरोना संक्रमणबाट हुने मृत्यु झण्डै ४० प्रतिशतले बढ्यो

हिमालय टिभी
२०७७ कार्तिक १२ गते १२:११
युरोपमा कोरोना संक्रमणबाट हुने मृत्यु झण्डै ४० प्रतिशतले बढ्यो

१२ कात्तिक, २०७७ काठमाडौं । युरोपमा कोरोना संक्रमणबाट मृत्यु हुने संख्या झण्डै ४० प्रतिशतले वृद्धि भएको विश्व स्वास्थ्य संगठनले बताएको छ।

कोरोनाबाट मृत्यु हुने संख्या गत साताको तुलनामा झण्डै ४० प्रतिशतले बढेको डब्लुएचओको भनाइ छ ।

डब्लुएचओकी प्रवक्ता डाक्टर मार्गरेट ह्यारिसले फ्रान्स, स्पेन, बेलायत, द नेदरल्याण्ड्स‌ र रुसमा बढी संक्रमित देखिएको र संक्रमित एक तिहाइले वृद्धि भएको बताएकी हुन्।

थुप्रै युरोपेली देशहरूमा लगाइएका नयाँ प्रतिबन्धहरू कति प्रभावकारी भए भन्ने कुराको विश्लेषण दुई सातामा मात्रै गर्न सकिने उनको भनाइ छ। रुसमा पछिल्लो पटक एकैदिन हालसम्मकै धेरै ३ सय २० जनाको मृत्यु भएको छ ।

उता संक्रमण बढेकै कारण स्पेनमा देशव्यापी संकटकाल लागू भएको छ भने रात्रिकालि कर्फ्यु लगाइएको छ ।

त्यस्तै इटली र अस्ट्रियामा पनि मृत्यु हुनेको संख्या तीव्र रूपले बढेको छ। अमेरिका, भारत, ब्राजिलपछि रुसमा सबैभन्दा बढी संक्रमित छन् । रुसमा भीडभाड हुने सबै स्थानमा मास्क लगाउन अनिवार्य गरिएको छ।

संक्रमण रोक्न नयाँ प्रतिबन्ध घोषणा गरिएपछि इटलीभरका विरोध प्रदर्शनहरू भएका थिए। त्यस्तै बेल्जियममा अस्पतालहरूमा संक्रमित बढेपछि संक्रमित चिकित्सकहरूलाई पनि काममा आउन भनिएको छ।

यसैबीच बेलायतको इम्पेरिअल कलेज लण्डनका अनुसन्धानकर्ताहरूले कोरोना संक्रमण पुष्टि भएका मानिसमा करिब एक चौथाइले एन्डीबडी घटेको पाइएको बताएका छन्। संक्रमितको प्रतिरक्षात्मक एन्टीबडी एकदमै तीव्र गतिमा घटेको अनुसन्धानको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *