विदेश

इटालीमा फेरि बढ्यो कोरोना संक्रमण, प्रतिबन्धात्मक नयाँ नियम घोषणा

हिमालय टिभी
२०७७ कार्तिक ३ गते ७:२३
इटालीमा फेरि बढ्यो कोरोना संक्रमण, प्रतिबन्धात्मक नयाँ नियम घोषणा

३ कात्तिक, २०७७, इटाली । कोरोना संक्रमण पुनः बढ्न थालेपछि इटालीमा प्रतिबन्धात्मक नयाँ नियम घोषणा गरिएको छ ।

प्रधानमन्त्री जुसेपे कोन्तेले पुनः लकडाउनको अवस्था आउन नदिन प्रतिबन्धात्मक उपाय लागू गरेको बताए ।

मास्क लगाएर टेलिभिजनमार्फत सम्बोधन गर्दै प्रधानमन्त्री कोन्तेले अर्थतन्त्रमा गम्भीर असर पार्ने विगतको जस्तो लकडाउन गर्नुपर्ने अवस्था नआओस् भन्नका लागि समय खेर नफाली सुरक्षाका लागि प्रतिबन्धात्मक उपाय अपनाउनुको विकल्प नरहेको बताए । सरकारले सक्दो प्रयास गरिरहेको र नागरिकले पनि आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिए ।

शैक्षिक संस्थाका माथिल्लो कक्षाका विद्यार्थीको विद्यालय समय कम गर्ने तथा सकेसम्म घरबाटै अध्ययन गर्ने व्यवस्था मिलाउने, बार तथा रेष्टुरेन्ट मध्यरातमा बन्द गर्नुपर्ने लगायत अधिकतम एक समूहमा ६ जनाभन्दा बढी जम्मा हुन नपाइने भएको छ ।

त्यस्तै स्थानीय सभा सम्मेलन तथा उत्सवमा रोक लगाइएको छ । अब मेयरहरुलाई आफ्नो शहरका सार्वजनिकस्थल निश्चित समयपछि बन्द गर्ने तथा रेष्टुरेन्ट खोल्ने र बन्द गर्ने समय तथा त्यहाँ उपस्थित हुन पाउने मानिसको संख्या निर्धारण गर्ने अधिकार दिइएको छ ।

इटालीमा पछिल्ला दिनमा लगातार कोरोना संक्रमीतको संख्या बढ्दै गएको छ । कोरोना महामारीको पहिलो लहरमा युरोपमा सबैभन्दा पहिले सबैभन्दा बढी प्रभावित हुने देश इटालीमा अहिले महामारीको दोस्रो लहर शुरु भएको हो ।

इटालीमा अहिलेसम्म संक्रमणबाट चार लाख भन्दा बढी मानिस संक्रमित हुँदा ३६ हजार पाँच सय भन्दा बढीको मृत्यु भैसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *