विदेश

कुनै खास अवस्थामा कोरोना भाइरस २८ दिनसम्म बाँच्न सक्ने वैज्ञानिकहरुको दाबी

हिमालय टिभी
२०७७ असोज २६ गते ९:१३
कुनै खास अवस्थामा कोरोना भाइरस २८ दिनसम्म बाँच्न सक्ने वैज्ञानिकहरुको दाबी

२६ असोज, २०७७ काठमाडौं । कुनै खास अवस्थामा कोरोना भाइरस २८ दिनसम्म बाँच्न सक्ने वैज्ञानिकहरुले दाबी गरेका छन् ।

कोरोना भाइरस पैसा, मोबाइल फोनको स्क्रीन तथा स्टेनलेस स्टीलजस्ता सतहमा २० डिग्री सेल्सियसको तापक्रममा २८ दिनसम्म जीवित रहन सक्ने अनुसन्धानकर्ताहरूले बताएका हुन्।

अस्ट्रेलियाको नेशनल साइन्स एजेन्सीका वैज्ञानिकले गरेको अनुसन्धानमा भाइरस पहिले सोचेभन्दा लामो समय जीवित रहन सक्ने देखिएको हो । त्यस्तै भाइरस बढी तापक्रममा कम समय बाँच्ने पनि देखिएको छ ।

४० डिग्री तापक्रमका केही सतहमा २४ घण्टापश्चात् भाइरस निष्क्रिय भएको पाइएको अनुसन्धानले पुष्टि गरेको छ । तर, सतह तथा कुनै छिद्र नभएका सतहमा भाइरस लामो समय रहेको उल्लेख छ ।

यस्तै कपडा जस्ता ससाना छिद्र हुने वस्तुमा भने भाइरस १४ दिनभन्दा बढी सक्रिय नरहेको पाइएको छ । उक्त अनुसन्धान अँध्यारो अवस्थामा गरिएको हुनाले परावैजनी अर्थात अल्ट्राभ्वाइलेट किरणले भाइरसलाई मार्ने यसअघि नै पुष्टि भैसकेको छ ।

कोरोना भाइरस सामान्यतया मानिसहरूले खोक्दा, हाँच्छ्यू गर्दा वा बोल्दा ओसिला कणहरुबाट सर्ने बताइँदै आएपनि हावाको माध्यमबाट पनि सर्ने विवरण समेत सार्वजनिक भइरहेका छन् ।

त्यस्तै पहिलेका अध्ययनले जस्तै भाइरस ताजा वा चिसोमा जमाइएका खानामा पनि रहन सक्ने देखाएको छ।

उता विश्व स्वास्थ्य संगठनले भने भाइरस खाना वा खानाको प्याकेजबाट संक्रमण भएको अहिलेसम्म पुष्टि नभएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *