चरम आर्थिक संकटपछि श्रीलंकामा देशव्यापी संकटकाल घोषणा

१९ चैत २०७८ कोलम्बो । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले मुलुकभर संकटकालको घोषणा गरेका छन्।
गहिरो आर्थिक संकटलाई लिएर विरोध प्रदर्शन फैलिएपछि राष्ट्रपति राजापाक्षेले संकटकाल घोषणा गरेका हुन्।
आक्रोशित प्रदर्शनकारीले राजधानी कोलम्बोस्थित राष्ट्रपति भवनमा आक्रमणको प्रयास समेत गरेका थिए । प्रहरीले केही प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।
चर्को महङ्गी,खानेकुरा,इन्धन र बिजुली अभावका विरुद्ध राष्ट्रपति भवन अगाडि हिंसात्मक विरोध प्रदर्शन भएको थियो । श्रीलङ्का चरम विदेशी मुद्रा अभाव भएर सङ्कटपूर्ण अवस्थामा छ ।
यसले देशको अर्थतन्त्रलाई लथालिङ बनाएको छ । त्यहाँ दैनिक १३ घण्टा लामो समयसम्म विद्युत कटौती हुने गरेको छ । इन्धनको अभाव छ भने अत्यावश्यक खानेकुरा र औषधिको अभाव चरमविन्दुमा पुगेको छ ।
सरकारले देशको हालको खराब अवस्थाका लागि कोरोना महामारीले पर्यटन उद्योगमा पारेको नराम्रो प्रभाव र सन् २०१९ मा देशका गिर्जाघरहरूमा श्रृङ्खलाबद्ध आक्रमण भएपछि पर्यटक आगमनमा भएको उल्लेख्य कमी जस्ता कारण जिम्मेवार रहेको भन्ने गरेको छ।
प्रतिक्रिया