विदेश

अमेरिका औपचारिक रुपमै फर्कियो जलवायुसम्बन्धी पेरिस सम्झौतामा

हिमालय टिभी
२०७७ फागुन ८ गते ८:२२
अमेरिका औपचारिक रुपमै फर्कियो जलवायुसम्बन्धी पेरिस सम्झौतामा

८ फागुन २०७७ न्युयोर्क । अमेरिका औपचारिक रुपमा जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौतामा फर्किएको छ ।

विश्व शक्ति राष्ट्र जी–सेभेन बैठकलाई भर्चुअलरुपमा सम्बोधन गर्दै राष्ट्रपति जो बाइडेनको यस्तो भनाइ आएको हो । सम्झौताबाट औपचारिक रुपमा बाहिरिएको १ सय ७ दिनपछि अमेरिका पुनः सम्झौतामा फर्किएको छ ।

चुनावी प्रतिबद्धता अनुसार राष्ट्रपति बाइडेनले अमेरिकालाई विश्वव्यापी गम्भीर समस्याका रुपमा रहेको जलवायु परिवर्तनको प्रभाव न्यूनिकरण गर्ने सम्बन्धी सम्झौतामा अमेरिकालाई फर्काएको बताए ।

राष्ट्रपति बाइडेनले जलवायु परिवर्तनको प्रभाव नियन्त्रण गर्न काम गर्ने र गरिब देशलाई समेत सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । गएको जनवरीमा बाइडेनले राष्ट्रपति पद सम्हाले लगत्तै संयुक्त राष्ट्रसंघलाई पेरिस सम्झौतामा फर्कन चाहेको बताएका थिए ।

उनले आफ्नो कार्यकालको पहिलो दिनमै पेरिस सम्झौताबाट अमेरिकालाई बाहिर निकाल्ने पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय उल्ट्याउने कार्यकारी आदेश जारी समेत गरेका थिए ।

ट्रम्प प्रशासनले सन् २ हजार १९ मा उक्त सम्झौताबाट बाहिरिने घोषणा गरेपनि यसले सन् २ हजार २० को नोभेम्बर ४ तारिखमा मात्रै औपचारिकता पाएको थियो ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले अमेरिका पुनः सम्झौतामा आउनु महत्वपूर्ण रहेको बताएका छन् । त्यस्तै ट्रम्पको चार वर्षे कार्यकालमा जलवायु परिवर्तन सम्बन्धी कार्यमा निष्क्रिय रहेको अमेरिका अब सक्रिय हुने भन्दै विश्व नेताहरुले प्रतिक्रिया दिएका छन् ।

२०१५ को उक्त सम्झौतालाई विश्वव्यापी तापमान वृद्धि नियन्त्रण तथा जलवायु परिवर्तनको प्रभाव कम गर्ने कार्यका लागि महत्वपूर्ण मानिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *