बाइडेनको जितलाई औपचारिकता दिन ढिलाइ गर्ने राष्ट्रपति ट्रम्पको प्रयास

७ मंसिर, २०७७ न्यु्योर्क । नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनको जितलाई औपचारिकता प्रदान गर्ने प्रक्रियामा ढिलाइ गर्न वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ प्रयास गरेका छन् ।
बाइडेनले जितेको मिसिगन राज्यका रिपब्लिकन अधिकारीहरुले चुनावी नतिजालाई औपचारिकता प्रदान गर्ने समय पछि धकेल्न आग्रह गरेका छन् ।
मिसिगनका अधिकारीहरुले राज्यको इलेक्टोरल बोर्डलाई पत्र लेख्दै मत परिणामको औपचारिकता प्रदान गर्ने समय दुई हप्ता पछि सार्न आग्रह गरेका हुन्। उनीहरुले राज्यको सबैभन्दा ठूलो काउन्टी डिट्रोइटमा पुनः मतगणना गर्नुपर्ने माग गरेका छन् ।
चुनावमा पराजित भएपनि हार स्वीकार नगरेका राष्ट्रपति ट्रम्पले आफ्नो पार्टीलाई नतिजा उल्ट्याउन गर्न बाध्य पारेका छन् । तर मिसिगनको डिपार्टमेन्ट अफ स्टेटले रिपब्लिकन अधिकारीको आग्रह खारेज गरेको छ ।
दुई डेमोक्रेट र दुई रिपब्लिकन रहेको चार सदस्यीय मिसिगन इलेक्टोरल बोर्डको बैठक आगामी सोमबार बस्ने र मतपरिणामलाई औपचारिकता प्रदान गर्ने बताइएको छ ।
ट्रम्पले प्रमाण बिना धाँधलीको आरोप लगाउँदै आफूबाट नतिजा खोसिएको बताउँदै आएका छन् । उनले अदालतमा दायर गरेका अधिकांश मुद्दाहरु लगातार खारेज भइरहेका छन् ।
प्रतिक्रिया