१३ खेल सकिँदा एनपीएल क्रिकेटको प्लेअफ समीकरण रोचक बन्दै
काठमाडौं : नेपाल प्रिमियर लिग एनपीएलको जारी सिजन निकै रोमाञ्चक, प्रतिस्पर्धात्मक र सनसनीपूर्ण छ ।
प्रतियोगिताको १३ औं खेल समाप्त भइसक्दा एनपीएलको अंक तालिकामा ठूला फेरबदल देखिएका छन् भने प्लेअफको समीकरण पनि रोचक बन्दै गएको छ ।
त्रिवि क्रिकेट रंगशालामा भइरहेका यी खेलमा घरेलु र स्थापित खेलाडीको प्रदर्शनले प्रतियोगितामा रौनक थपेको छ ।
एनपीएलमा १३ खेलको समाप्तीमा मैदान बाहिर जति समर्थकको उत्साहले शिखर चढ्दै छ । मैदान भित्र पनि उतिकै तीव्र प्रतिस्पर्धा चलिरहेको छ ।
यो प्रतिस्पर्धाले एनपीएलको रोमाञ्चकता मैदानभित्र प्रष्ट रूपमा देखिन थालेको छ । चाहे विराटनगर किङ्स र कर्णाली याक्सको खेल होस् वा मंगलबार विराटनगर र जनकपुर बोल्ट्कै किन नहोस्, एनपीएलमा फ्रेन्चाइजीबीच तीव्र प्रतिस्पर्धा चलिरहेका छन् ।
१३औं खेलसम्म आउँदा टोलीहरुको प्रदर्शन के कस्तो रह्यो ? हेरौं ।
मंगलबारको दोस्रो खेलमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई ८ विकेटले हरायो । यससँगै अंक तालिकामा लुम्बिनीले शानदार पुनरागमन गर्दै शीर्ष स्थान ओगटेको छ भने पुछारमा रहेको पोखरालाई दबाब बढेको छ ।
लुम्बिनी लायन्स
विजयी सुरुआती गरेको लुम्बिनीले दोस्रो खेलमा अंक बाँड्नु परे पनि तेस्रो खेलमा पाएको ठूलो जितले रनरेटमा निकै माथि पुर्याएको छ । (हालसम्मको एकमात्र अपराजित टोली लुम्बिनी ३ खेलबाट ५ अंक जोड्नै तालिकाको शीर्षस्थानमा छ । ४ दशमलव ०५१ रनरेट बनाएका उ विराटनगर, जनकपुर र सुदूरपश्चिम भन्दा एक खेल कम खेले पनि तालिकाको शीर्षस्थानमा उक्लिन सफल भयो । लुम्बिनीले ५ अंक बनाउँदा विराटनगर, कर्णाली, जनकपुर र सुदूरपश्चिमले समान ४-४ अंक जोडेका छन् । ४ खेलमा २ जित र २ हारसहित विराटनगर दोस्रो, ३ मध्ये २ खेल जितेको कर्णाली तेस्रो, समान २ जित र २ हार व्यहोरेका जनकपुर चौंथो र सुदूरपश्चिम पाँचौं स्थानमा छन् । ३ खेलमा ३ अंक जोडेको चितवन छैटौं, २ खेल खेलेको काठमाडौं सातौं स्थानमा रहँदा एकमात्र जितविहिन टोली पोखरा पुछारमा छ ।
सर्वाधिक रनकर्ता
लोकश बम, विराटनगर किङ्सः ४ खेलबाट १८८ रन जोडेका विराटनगरका ओपनर लोकेश तालिकाको शीर्षस्थानमा छन् । नेपाली युवा ब्याटर लोकेश बम उत्कृष्ट लयमा देखिएका छन् । हालसम्म दुई अर्धशतक प्रहार गर्ने एक्लो खेलाडी लोकेशले उत्कृष्ट औसत र उच्च स्ट्राइक रेटका साथ रन बनाइरहेका छन् ।
आन्द्रे रसेल, विराटनगर किङ्सः
२ जित र २ हारका बाबजुद पनि जारी संस्करण विराटनगरका ब्याटरले विष्फोटक ब्याटिङ गरिरहेका छन् । उसका आन्द्रे रसेल पनि समान ४ खेलबाट १४१ रन बनाएर दोस्रो स्थानमा छन् । १ अर्धशतक बनाएका उनी विराटनगरले जितेको दुवै खेलमा प्लेयर अफ द म्याच समेत चुनिएका थिए ।
अरिफुल इस्लाम, कर्णाली याक्सः
यो संस्करण धमाकेदार प्रदर्शन गरिरहेको अर्को टोली कर्णालीका बंगलादेशी खेलाडी इस्लामले पनि विष्फोटक र जिम्मेवार ब्याटिङ गर्दै करिब ३९ को औसत र १८८ को स्ट्राइक रेटमा रन बटुलिरहेका छन् । ३ खेलमा कुल ११९ रन बनाएका उनी सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा तेस्रो स्थानमा छन् ।
सर्वाधिक विकेटकर्ताः
मोइन अली, जनकपुर बोल्ट्सः
इङ्लिस अलराउन्डर मोइन अली बलिङमा किफायती र धारिलो देखिएका छन् । उनले मात्र ४ दशमलव ८६ को इकोनोमी रेटमा बलिङ गर्दै किफायती बलर साबित हुँदा ७ विकेट सहित तालिकाको शीर्ष स्थानमा छन् । बलरको सूचीमा आफ्नो प्रभाव जमाएका उनको उत्कृष्ट स्पेल १३ रन खर्चिएर ३ विकेट लिनु हो ।
एन्जेलो म्याथ्युज, विराटनगर किङ्सः
अनुभवी अलराउन्डर म्याथ्युजले पावरप्ले र मध्य ओभरमा निकै चलाखीपूर्ण बलिङ गर्दै महत्वपूर्ण विकेट लिइरहेका छन् । ७ विकेट लिएका उनको इकोनोमी ७ दशमलव २७ छ ।
सोमपाल कामी, कर्णाली याक्सः नेपाली राष्ट्रिय टोलीका भरपर्दा तीव्र गतिका बलर सोमपाल कामीले महत्वपूर्ण ब्रेकथ्रु दिने क्रममा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । ८ दशमलव २० इकोनोमी राखेका उनी पनि ७ विकेट सहित तालिकाको तेस्रो स्थानमा छन् ।
फिल्डिङ
विकेटकिपिङतर्फ सुदूरपश्चिमका विनोद भण्डारी यस पटक पनि प्रभावकारी प्रदर्शन गरिरहेका छन् । उनले ३ क्याच र १ स्टम्पिङसहित ४ डिसमिसल गरेका छन् ।
फिल्डिङतर्फ कर्णालीका गुल्शन झा हालसम्म उत्कृष्ट देखिएका छन् । ३ खेलमा ५ क्याच लिइसकेका उनी उत्कृष्ट फिल्डरका रुपमा देखिएका छन् ।
यसरी अंक तालिकाको शीर्ष स्थानदेखि पुछारसम्मका टोलीबीच अंकको भिन्नता धेरै नरहेकाले आगामी खेल थप प्रतिस्पर्धात्मक हुने निश्चित छ । विदेशी स्टारको उपस्थितिले नेपाली युवा खेलाडीले पाएको एक्सपोजरले नेपालमा फ्रेन्चाइज क्रिकेटको भविष्य समेत देखाएको छ ।

प्रतिक्रिया