७०औँ बालोन डी ओरको दौड : युवा स्टारको दबदबा, मुख्य ५ दाबेदारमा को-को?
काठमाडौं : विश्व फुटबलको प्रतिष्ठित अवार्ड बालोन डी ओर २०२६ का लागि गएराति ३० सदस्यीय मनोनयन सूची सार्वजनिक भयो । ७०औँ संस्करणको अवार्ड समारोह आगामी अक्टोबर २६ मा हुनेछ । यसपटकको मनोनयनमा नयाँ युवा अनुहारको वर्चस्व देखिँदा केही दिग्गज खेलाडीको पुनरागमन र केहीको अनपेक्षित अनुपस्थिति चर्चाको विषय बनेको छ ।
आयोजक फ्रान्स फुटबलले मंगलबार राति सार्वजनिक गरेको ७०औँ संस्करणको बालोन डी ओर २०२६ को मनोनयनले अहिले चारैतिर तहल्का पिटिरहेको छ । पहिलो बालोन डी ओर विजेता स्टेनली म्याथ्युजको सम्मानमा आउँदो अक्टोबर २६ मा लन्डनमा विशेष समारोह आयोजना हुँदैछ । जहाँ पुरुषतर्फको मुख्य अवार्डसहित कुल १० विधाका विजेता घोषणा गरिनेछ । आज हामी कुरा गर्नेछौँ, ३० जनाको यो सर्टलिस्टमा को को परे, ठूला नामहरू कसरी छुटे र यसपालिको मुख्य दाबेदार चाहिँ को को हुन् त ?
३० जनाको सूची, युवा स्टारको दबदबा र मेस्सीको पुनरागमनः
युरोप र विश्व फुटबलका टप क्लबबाट उत्कृष्ट प्रदर्शन गरेका ३० जना खेलाडीको नाम सार्वजनिक भइसकेको छ । जसमा ह्यारी केन, एर्लिङ हालान्ड, जुड बेलिंघम, केलियन एमबाप्पे, उस्मान डेम्बेले, लामिन यामल, रोड्री, भिनिसियस जुनियर र लाउटारो मार्टिनेज जस्ता स्टारको उपस्थिति छ ।
तर यो सूचीको सबैभन्दा ठूलो खबर अर्जेन्टिनी कप्तान लियोनल मेस्सीको पुनरागमन हो । सन् २०२३ मा आठौँ पटक यो अवार्ड जितेयताका दुई संस्करण बाहिर रहेका मेस्सी, १७औँ पटक यो सर्ट लिस्टमा पर्न सफल भए । त्यस्तै, उत्तर अमेरिकामा सम्पन्न फिफा विश्वकप विजेता स्पेनका पाउ कुबार्सी, मार्क कुकुरेला र फेरान टोरेस पहिलो पटक यो सूचीमा अटाउँदा नयाँ पुस्ताको दबदबा स्पष्ट देखिएको छ ।
ठूला नाम, जो सूचीमा अटाएनन्ः
जति नै राम्रो खेले पनि सबै अट्ने ठाउँ कहाँ हुन्छ र ? फुटबलप्रेमीलाई चकित पार्दै यसपटक केही ठूला नाम ३० जनाको सूचीबाट बाहिर छन् । यसमा सबैभन्दा माथि आउने नाम हो, पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो । बालोन डी ओरको इतिहासमै सर्वाधिक १८ पटक मनोनयनमा परेका ५ पटकका विजेता रोनाल्डो, सन् २०२२ यता लगातार चौंथो पटक यो सूचीबाट बाहिरै परे ।
त्यति मात्र कहाँ हो र, क्लब फुटबलदेखि विश्वकपसम्म उत्कृष्ट प्रदर्शन गरेका मार्टिन ओडेगार्ड, राफिन्हा, जुलियन अल्भारेज, इन्जो फर्नान्डेज र पेड्री जस्ता खेलाडीहरू पनि यो वर्ष प्रारम्भिक ३० जनाको सूचीमा अटाउन सकेनन् ।
बालोन डी ओर २०२६ का ५ बलिया र मुख्य दाबेदारः
अब कुरा गरौँ, यो ३० जनाको भिडबाट अवार्ड उचाल्नका लागि सबैभन्दा बलियो सम्भावना बोकेका ती ५ खेलाडीको, जसले गत सिजन आफ्नो प्रदर्शनले तहल्का मच्चाए ।
ह्यारी केन, बायर्न म्युनिख र इङ्ल्याण्डः
गत सिजन बायर्न म्युनिख र इङ्ल्याण्डका लागि कीर्तिमानी प्रदर्शन गरेका स्ट्राइकर केनले कुल ७३ गोल ठोकेका छन् । उनको उत्कृष्ट प्रदर्शनमा बायर्नले बुन्डेस लिगा, जर्मन कप र जर्मन सुपर कप जित्दै घरेलु त्रिमुकुट पूरा गरेको थियो । इङ्ल्याण्डलाई विश्वकपको सेमिफाइनलसम्म पुर्याएका केन यदि यो उपाधि जितेमा, २००१ मा माइकल ओवेनपछि यो अवार्ड जित्ने पहिलो इङ्लिस खेलाडी बन्नेछन् ।
केलियन एमबाप्पे, रियल मड्रिड र फ्रान्सः
रियल मड्रिडमा आएपछि एमबाप्पेको रफ्तार झनै बढेको छ । क्लब र राष्ट्रका लागि ६० गोल र १३ असिस्ट गरेका उनी, भर्खरै सम्पन्न विश्वकपमा सर्वाधिक १० गोलसहित विश्वकप इतिहासकै सर्वाधिक २२ गोल गर्ने खेलाडी बने । ठूला मञ्चको दबाब कसरी झेल्नुपर्छ भन्ने राम्ररी जानेका एमबाप्पे नवौँ पटक यो सूचीमा पर्दै उपाधिको बलियो दौडमा छन् ।
लामिन यामल, बार्सिलोना र स्पेनः
बार्सिलोनाका यी युवा सनसनी गत वर्षको संस्करणमा दोस्रो स्थानमा रहेका थिए । आफ्नो जादुयी ड्रिब्लिङ र खेल सिर्जना गर्ने क्षमताले उनले विपक्षीको सातो मात्र खाएका छैनन्, यसपटक त उनी युवा प्रतिभातर्फ मात्र होइन, सीधै मुख्य बालोन डी ओरकै प्रमुख दाबेदारको रूपमा उभिएका छन् ।
रोड्री, बार्सिलोना र स्पेनः
सन् २०२४ का विजेता रोड्री यो उपाधि दोस्रो पटक उचाल्ने दाउमा छन् । म्यानचेस्टर सिटी छाडेर बार्सिलोना पुगेका उनले स्पेनलाई विश्वकपको उपाधि दिलाउँदा कप्तानको भूमिका निभाएका थिए र प्लेयर अफ द टुर्नामेन्ट घोषित भए । मिडफिल्डबाटै खेल पल्टाउने उनको क्षमताको त के कुरा गर्नु ।
उस्मान डेम्बेले, पीएसजी र फ्रान्सः
पीएसजीको आक्रमण लाइनका मुख्य हतियार डेम्बेले गत सिजन आफ्नो करियरकै सर्वोत्कृष्ट फर्ममा देखिए । लगातार दुई पटक च्याम्पियन्स लिग जिताउन र पीएसजीलाई घरेलु ट्रफीमा कब्जा जमाउन महत्त्वपूर्ण योगदान दिएका डेम्बेले, गत वर्ष पहिलो अवसरमै अवार्ड जितेझैँ यसपालि पनि चमत्कार दोहोर्याउन तयार छन् ।
अवार्ड जसले जिते पनि, फुटबलप्रेमीका लागि यो वर्षको भिडन्त साँच्चै रोमाञ्चक हुनेछ । किनकि नयाँ पुस्ताको आँधी र पुराना दिग्गजको चमक एकै ठाउँमा जुधिरहेको छ ।

प्रतिक्रिया