Political Hightlights

भदौ २४ : जनआक्रोशको विस्फोट कि योजनाबद्ध विध्वंश ?

हिमालय टिभी
२०८३ भदौ २४ गते २०:०५
भदौ २४ : जनआक्रोशको विस्फोट कि योजनाबद्ध विध्वंश ?

काठमाडौं : गतवर्ष आजकै दिन देशमा ठूलो विध्वंश भएको थियो । अघिल्लो दिन राज्यले चरम दमन गरेपछि देशैभरी ठूलो संख्यामा नागरिक सडकमा उत्रिए ।

तर, अराजक समूहले सरकारी र निजी सम्पत्तिमा व्यापक तोडफोड र आगजनी गर्यो । यही दिन देशमा सत्ता पलट पनि भयो । नेताहरू सेनाको हेलिकोप्टर चढेर भाग्नु पर्ने अवस्था आयो । २०८२ भदौ २४ लाई हेर्ने फरक-फरक दृष्टिकोण छन् तर त्यसले सबैलाई एउटा पाठ भने पढाएको छ ।

त्यो दृश्य सम्झिँदा मात्रै पनि अझै आङ सिरिङ्ग हुन्छ । २०८२ भदौ २४ गतेको दिउँसो । काठमाडौँको आकाश नीलो थिएन, सबैतिरबाट उडेको कालो धुवाँले आकास छोपेको थियो । सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, हिल्टन होटल तथा भाटभटेनी जस्ता व्यापारिक कम्प्लेक्सहरूबाट उठेको कालो धुवाँले अत्यासलाग्दो वातावरण बनेको थियो । एकातिर कारागारका फुटाएर कैदीहरू भागिरहेका थिए भने अर्कोतिर प्रधानमन्त्री, मन्त्री सहितका शीर्ष नेताहरू ज्यान जोगाउन हेलिकोप्टर चढेर सेनाको शरणमा पुगिरहेका थिए ।

सडकमा बलेका गाडी, लुटिएका सामग्री र ऐतिहासिक कागजात जलिरहेका थिए । प्रहरी चौकीहरू जलिरहेका थिए । सुरक्षाकर्मीलाई आफ्नै सुरक्षा गर्न गाह्रो भएको थियो । यस्तै दृष्य काठमाडौंमा मात्रै होइन देशभरी नै फैलिएको थियो । त्यो दिन देशमा राज्य पूर्ण रूपमा कोल्याप्स भएको थियो ।

आक्रोशको विस्फोटक बिन्दु

भदौ २४ को त्यो ध्वंस र अराजकता एक्कासि भएको थिएन। यसको पछाडि नागरिक आक्रोशको लामो शृङ्खला थियो:

-युवा पुस्ताको आवाज व्यक्त गर्ने मुख्य माध्यम सामाजिक संजालमाथि सरकारले लगाएको प्रतिबन्धले ‘जेनजीमा’ मा तीव्र आक्रोश जन्माएको थियो ।

-देशमा दिनानुदिन बढ्दो नेपोटिजम र रोजगारीको अभावले निराश बनेका युवाका लागि भदौ २३ गते माइतीघर र बानेश्वरमा भएको सरकारी दमनले आगोमा घिउको काम गर्‍यो ।

-२४ गते बिहानसम्म मृत्यु हुनेको संख्या ५० नाघिसकेको थियो । त्यही आक्रोशले धेरै नागरिक सडकमा उत्रिएका थिए । तर, आगजनी र ध्वंशमा भने केही सीमित समूहको अगुवाई देखिएको थियो । )

आन्दोलनमा घुसपैठ, जेल ब्रेक र निजी सम्पत्तिमाथि आक्रमण

भदौ २३ गतेसम्म युवाहरूको आन्दोलन पूर्णतः शान्तिपूर्ण र एजेन्डाकेन्द्रित थियो । तर, भदौ २४ गते बिहानैदेखि स्थिति राज्यको नियन्त्रणबाहिर गयो ।

जेल ब्रेक र कैदीहरूको पलायन: भीडको अराजकताको फाइदा उठाउँदै केन्द्रीय कारागार लगायतका स्थानमा तोडफोड गरी गम्भीर अपराधमा संलग्न कैदीहरू भाग्न सफल भए, जसले सहरमा असुरक्षा र सन्त्रास फैलायो ।

निजी संरचना र व्यापारिक घरानामाथि तोडफोड : अराजक समूहले भाटभटेनी सुपरमार्केट, हिल्टन होटल जस्ता निजी र व्यावसायिक संरचनामा आगजनी, तोडफोड र लुटपाट मच्चाए ।

नेताहरूको भागदौड र सत्ताको शून्य अवस्था: सडकमा जनसागर र आक्रोश नियन्त्रणबाहिर पुगेपछि तत्कालीन प्रधानमन्त्री, मन्त्रीहरू र शीर्ष नेताहरू हेलिकोप्टरमार्फत सुरक्षित स्थानतर्फ भाग्न बाध्य भए । राज्य सञ्चालन पूर्णतः शून्यको स्थितिमा पुगेको थियो ।

छानबिन आयोगका प्रतिवेदनले देखाएको चित्र

घटनापछि गठित विभिन्न उच्चस्तरीय छानबिन आयोग र अध्ययन टोलीका प्रतिवेदनहरूले तथ्यहरू सार्वजनिक गरे:

अभूतपूर्व भौतिक र आर्थिक क्षति : राज्यका मुख्य निकायसहित निजी क्षेत्रका अर्बौँ मूल्य बराबरका व्यापारिक कम्प्लेक्सहरू खरानी भए ।

सुरक्षा संयन्त्रको असफलता: प्रतिवेदनहरूले स्पष्ट पारेका छन्—भीडको सम्भावित रूप र जेल ब्रेक हुन सक्ने जोखिमबारे पूर्वसूचना हुँदाहुँदै पनि तत्कालीन सुरक्षा निकायबीच समन्वयको अभाव र राजनीतिक अन्योलका कारण राज्य तथा निजी सम्पत्ति जोगाउन सुरक्षा संयन्त्र पूर्णतः असफल रह्यो ।

आन्दोलनपछि गठित उच्चस्तरीय छानबिन आयोग, गृह मन्त्रालयको आन्तरिक प्रतिवेदन र राष्ट्रिय अनुसन्धान विभागका प्रतिवेदनहरूले विभिन्न तथ्य सार्वजनिक गरेका छन् ।

सङ्गठित आपराधिक गिरोहको प्रयोग

प्रतिवेदनहरूका अनुसार भदौ २४ गते सडकमा उत्रिएका आम युवाको मुख्य उद्देश्य शान्तिपूर्ण प्रदर्शन र राजनीतिक परिवर्तन मात्र थियो । तर, दिउँसो १२ बजेपछि आन्दोलनभित्र छिरेका आपराधिक पृष्ठभूमि भएका व्यक्ति र सङ्गठित गिरोहले पेट्रोल, रड र घरेलु हतियारसहित योजनाबद्ध रूपमा तोडफोड र आगजनी सुरु गरेका थिए ।

आक्रमणहरू स्वतःस्फूर्त जनआक्रोश नभई पूर्वयोजनाबद्ध घुसपैठ रहेको प्रतिवेदनमा उल्लेख छ। कारागार फुटाएर गम्भीर अपराधका अभियुक्तलाई भगाउने र व्यापारिक प्रतिष्ठानहरूमा लुटपाट मच्चाउने काममा राजनीतिक संरक्षण पाएका आपराधिक तत्त्वको मुख्य हात रहेको पुष्टि भएको छ ।

प्रतिवेदनहरूले डिजिटल पाटोलाई पनि औँल्याएका छन् । भदौ २३ गते राति डिस्कर्ड टेलिग्रामका विभिन्न च्याट ग्रुपहरूमा फेक एकाउन्ट र बोटहरूमार्फत भ्रामक सूचना, घृणास्पद सन्देश र “सरकारी भवन जलाउने” उक्साहटपूर्ण सामग्री नियतवश फैलाइएको पाइएको छ ।

सुरक्षा संयन्त्र फेल

प्रतिवेदनहरूले स्पष्ट पारेका छन्—भीडभित्र आपराधिक घुसपैठ भइरहेको र उनीहरूको निशाना राज्यका अति संवेदनशील अङ्ग तथा जेलतर्फ मोडिएको पूर्वसूचना राष्ट्रिय अनुसन्धान विभाग र नेपाल प्रहरीले समयमै पाउन सकेनन् । जसका कारण सुरक्षा निकाय ‘रिएक्टिभ’ मात्र बने । राज्य नेतृत्वविहीन अवस्थामा रहेकाले धेरैको नजर नेपाली सेनामा थियो । तर, अझ ठूलो मानविय क्षति हुने भन्दै सेना राज्यको सम्पत्ति जोगाउनतिर लागेन । उसको मुख्य ध्यान नेताहरूको ज्यान जोगाउनमा मात्रै केन्द्रित भयो ।

भदौ २४ गतेको पाठ

-भदौ २४ को त्यो भयावह दृश्यले हामीलाई एउटा कठोर पाठ सिकाएको छ—

अधिकारको लडाइँमा आफ्नै घर र राष्ट्रिय सम्पत्ति जलाएर वा लुटपाट गरेर जित हासिल हुन सक्दैन।

*नागरिकका आधारभूत अधिकार खोस्ने जनताका आवाज दबाउने हठ राज्यले छाड्नुपर्छ ।

शासकले बेलैमा जनआक्रोश नसुन्दा नेताहरू हेलिकोप्टर चढेर भाग्नुपर्ने र देश नै अराजकतामा धकेलिने स्थिति आउँछ ।

-विद्रोह र परिवर्तनका नाममा हुने आन्दोलनमा आपराधिक काम र घुसपैठियाबाट सतर्क रहन आवश्यक छ । निजी व्यवसाय होस् या सार्वजनिक धरोहर—यी सबै हाम्रै देशका सम्पत्ति हुन् भनेर युवा पुस्ताले बुझ्नै पर्छ ।

भदौ २४ को त्यो कालो दिन नेपाली इतिहासको एउटा यस्तो घाउ हो, जसले हामीलाई सधैँ सम्झाइरहनेछ—परिवर्तन र सुशासनको माग जायज हो, तर अराजकता, तोडफोड र विनाश कदापि विकल्प हुन सक्दैन। अबदेखि कहिल्यै यस्तो नहोस् !

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *