खेलकूद

एसीसी प्रिमियर कपमा नेपालका प्रतिद्वन्द्वी कस्ता ?

२०८३ भदौ १४ गते २०:२४
एसीसी प्रिमियर कपमा नेपालका प्रतिद्वन्द्वी कस्ता ?

काठमाडौं : तेस्रो संस्करणको एसीसी प्रिमियर कप मलेसियामा सुरु भएको छ।

प्रतियोगितामा सहभागी १० टोली मध्ये च्याम्पियन मात्र अर्को वर्ष बंगलादेशमा हुने एसिया कपका लागि छनोट हुनेछन् । यस्तोमा पहिलो संस्करणको विजेता नेपाल उपाधि जित्दै दोस्रो पटक एसिया कप खेल्ने लक्ष्यमा छ । नेपालले सोमबार बहराइनसँग खेल्नेछ । यस पटक नेपालले समूह ए मा के कस्ता प्रतिद्वन्द्वी छन् ?

एसियन क्रिकेट काउन्सिलको आयोजनामा भइरहेको एसिसी पुरुष प्रिमियर कप एसियाली एसोसिएट राष्ट्रहरूका लागि अत्यन्तै महत्वपूर्ण मानिन्छ । प्रतियोगिताको विजेताले एसियाका विश्वकप विजेता टोलीविरुद्ध खेल्न पाउने हुँदा यो एसोसिएट राष्ट्रका लागि राम्रो अबसर हो ।

यस पटक मलेसियामा जारी प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । पहिलो संस्करणको विजेता नेपाल रहेको समूह ए मा घरेलु टोली मलेसिया सहित बहराइन, हङकङ र साउदी अरेबिया छ । यता साबिक विजेता युएई रहेको समूह बी मा कुवेत, ओमान, कतार र सिङ्गापुर छन् ।

अब हेरौं समूह ए मा नेपालका प्रतिद्धन्दी र विगतको नतिजा के कस्तो छ?

आइतबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले सोमबार बहराइनसँग खेल्दै प्रतियोगिता थालनी गर्नेछ । मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम क्रिकेट ओभलमा विहान सवा ७ हुने खेल ५० ओभरको हुनेछ। नेपालले पहिलोपटक बहराइनसँग एकदिवसीय क्रिकेटमा प्रतिस्पर्धा गर्न लागेको हो । समग्रमा कागजी र तथ्याङ्कीय दुवै हिसाबले नेपाल बलियो देखिए पनि एसोसिएट क्रिकेटमा उदीयमान टोली बहराइनलाई कम आँक्न मिल्दैन ।

आफ्नो दोस्रो खेलमा नेपालले बिहीबार घरेलु टोली मलेसियासँग खेल्नेछ । मलेसियासँग नेपालको क्रिकेट इतिहास धेरै पुरानो र प्रतिस्पर्धात्मक छ । मलेसियाविरुद्धका पछिल्ला पाँच एकदिवसीय खेलमा नेपाल अपराजित छ । प्रतियोगिताअघि भएका दुई अभ्यास खेलमा पनि नेपालले मलेसियालाई हराएको थियो ।

तेस्रो खेलमा नेपालले भदौ २१ गते साउदी अरेबियासँग प्रतिस्पर्धा हुँदैछ । साउदी अरेबिया पछिल्लो समय एसियाली क्रिकेटमा गतिलो सम्भावना बोकेको टोलीको रूपमा उदाएको छ । सीमित ओभरको क्रिकेटमा नेपाल र साउदी अरेबियाबीच भएका अघिल्ला प्रतिस्पर्धामा नेपालको पल्ला भारी रहे पनि साउदीले खेललाई अन्तिमसम्म रोचक बनाउने क्षमता राख्छ ।

नेपालले समूहको अन्तिम खेलमा २३ गते हङकङसँग खेल्नेछ । हङकङ नेपालको चिरपरिचित प्रतिद्धन्दी हो । यि दुईबीचका खेल सधैं उच्च दबाब र रोमाञ्चक हुने गरेका छन् । एकदिवसीय ढाँचामा यी दुईबीच कडा प्रतिस्पर्धा हुने गरेको भए पनि नेपाली टोलीले आफ्नो उत्कृष्ट स्पिन आक्रमण र ब्याटिङ गहिराइको बलमा हङकङविरुद्ध प्रभावशाली नतिजा निकाल्दै आएको छ ।

यसरी लिग चरणका खेल पछि दुवै समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन् । २७ गते हुने फाइनलको विजेताले मात्र सन् २०२७ मा बंगलादेशमा हुने एसिया कपमा स्थान बनाउनेछ ।

नेपालको उपाधि जित्ने सम्भावना कति छ ?

एसिसी प्रिमियर कपको पहिलो संस्करण २०२३ को विजेता नेपाललाई यस पटक पनि उपाधिको प्रबल दाबेदारको रूपमा हेरिएको छ ।

सन्तुलित टोली र अनुभवी खेलाडीः

कप्तान सन्दीप लामिछानेको नेतृत्वमा रहेको नेपाली टोलीमा रोहित पौडेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी र गुलशन झा जस्ता अन्तर्राष्ट्रिय अनुभव बोकेका भरपर्दा खेलाडीको बलियो उपस्थिति छ । तर यस पटक टोलीमा भएको परिमार्जनको नतिजा के कस्तो हुने भन्ने उत्सुकता बाँकी नै छ ।

कन्डिसन अनुकूलताः

मलेसियाको पिच र हावापानीसँग नेपाली खेलाडी अभ्यस्त छन् । यसअघि पनि मलेसियामा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्दै आइरहेको छ ।

गहिरो स्पिन आक्रमण र अलराउन्डर प्रदर्शनः

नेपाली टोलीसँग अनुभवी स्पिनर र जुझारु अलराउन्डरको बाहुल्यता छ, जसले बीचका ओभरमा खेलको लय परिवर्तन गर्न सक्छन् ।

समग्रमा, समूह चरणका प्रतिद्धन्दीहरूको चुनौतीलाई सहजै छिचोल्दै नेपाल दोस्रो पटक उपाधि उचाल्ने र आफ्नो दबदबा कायम राख्ने उच्च सम्भावना बोकेर अगाडि बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *