खेलकूद

चुहिने हल र पुरानो म्याटको भरमा एसियाड तयारी : ३६ वर्षको पदक खडेरी तोक्ने उसु टोलीको लक्ष्य

हिमालय टिभी
२०८३ भदौ ७ गते २०:३९
चुहिने हल र पुरानो म्याटको भरमा एसियाड तयारी : ३६ वर्षको पदक खडेरी तोक्ने उसु टोलीको लक्ष्य

काठमाडौं : जापानको आइची नागोयामा हुने २० औं एसियाली खेलकुद एसियाडका लागि नेपालको उसु टोली प्रशिक्षणमा व्यस्त छ ।

सन् १९९० को ११ औं संस्करणदेखि उसुमा भाग लिए पनि नेपालले अहिलेसम्म पदक जित्न सकेको छैन । खेलाडीलाई ३६ वर्षको पदक खडेरी तोड्ने दबाब छ । तर, त्यो भन्दा ठूलो चुनौती भने खेल्न योग्य प्रशिक्षण स्थलको छ ।

यो कुनै स्थानीय वा क्वानको प्रशिक्षण स्थल होइन । यहाँ त नेपाली खेलाडीले अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने ठूला मध्यको एक एसियाली खेलकुदको तयारी हुँदैछ । जो जापानमा हुने २० औं एसियाडमा पदक जित्ने लक्ष्यसहित अन्तिम चरणको तयारीमा व्यस्त छन् । तर यस्तो ठाउँमा जहाँ प्रशिक्षण गर्ने र खेल्न सकिने एउटा गतिलो म्याट पनि छैन । यो वर्षामा छानो चुहिने र हलमा पानी जम्नु त सामान्य जस्तो भइसक्यो । लक्ष्य एसियाडमा पदक जित्ने तर प्रशिक्षण स्थलको यस्तो हविगतले सम्बन्धित निकायलाई उदांगो पारिरहेको छ । तर पनि खेलाडीमा निराशा भन्दा बढी देशको प्रतिनिधित्व गर्दै सफलता पाउने भोक देखिन्छ ।

मिसन २०२६ अन्तर्गत लामो समयदेखि तयारी गरिरहेको भए पनि उसु खेलाडी चरम अभाव र कमजोर पूर्वाधारका बीच प्रशिक्षण लिन बाध्य छन् । प्रशिक्षणस्थलमा चिकित्सक वा फिजियोथेरापिस्ट पनि उपलब्ध नहुँदा खेलाडीले चोटपटकबाट जोगिन निकै सजग भएर अभ्यास गरिरहनु परेको छ । यसले प्रशिक्षकलाई पनि आजित बनाएको छ ।

चीनमा गरिएको एक महिनाको विशेष वैदेशिक प्रशिक्षणले थाउलो खेलाडीको प्राविधिक पक्षमा धेरै सुधार आएको छ । सान्सौंका खेलाडीलाई पनि वैदेशिक प्रशिक्षणमा पठाउने योजना भए पनि स्रोत साधन अभावनै मुख्य चुनौती बनिरहेको छ । प्रशिक्षणका लागि सामान्य सुविधा र व्यवस्थापन उसु महासंघले गरे पनि सरकारको सहयोगबिना अन्य योजना सम्भव नभएको महासंघको गुनासो छ ।

यसपटक एसियाडमा थाउलो र सान्सौं विधामा ८ पुरुष र ३ महिला गरि नेपालबाट ११ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । कैयौँ हतासा र अभावकाबीच उसु खेलाडीले चीनको प्रशिक्षण र आफ्नै कडा मेहनतको भरमा २० औं एसियाली खेलकुदमा नेपालका लागि ऐतिहासिक पहिलो पदकको खाता खोल्ने उच्च आत्मबल देखाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *