Main News

संक्रमणकालीन न्यायमा संयुक्त राष्ट्रसंघको चासो रहेको महासचिव गुटेरेसको स्पष्ट सन्देश (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० कार्तिक १४ गते २०:४९
संक्रमणकालीन न्यायमा संयुक्त राष्ट्रसंघको चासो रहेको महासचिव गुटेरेसको स्पष्ट सन्देश (भिडियो रिपोर्टसहित)

१४ कात्तिक २०८० काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शान्तिभूमि नेपालबाट विश्व शान्तिको कामना गर्नुभएको छ ।

संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै महासचिव गुटेरेसले शान्तिका कुरा मात्र होइन, विकास र समृद्धि, संयुक्त राष्ट्रसंघ र नेपालका सम्बन्धबारे पनि खुलेर प्रशंसा गर्नुभयो । उहाँले नेपालको द्वन्द्व सहजै अवतरण भएको बताउँदै आगामी दिनमा संक्रमणकालीन न्याय पनि पूरा गर्ने विश्वास लिनुभयो । उहाँले जलवायु परिवर्तनका असरसँग नेपालले जुध्नुपरेको अवस्थाको पनि चर्चा गर्नुभयो । विभिन्न पाटोमा महासचिव गुटेरेसले धारणा राख्नुभयो ।

संविधान जारी भएपछि पहिलो विदेशी पाहुनाका रुपमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय सम्बोधन गर्नुभएको छ । उहाँले जलवायु परिवर्तनले विश्वलाई पारेको प्रभाव र नेपालले भोग्नुपरेका समस्या मात्र होइन, विश्वमा बढ्दो अशान्तिकै बीचमा शान्तिको देश नेपाल आइपुगेको बताउनुभयो । उहाँले भूराजनीतिको चपेटा, आर्थिक संकटबाट उत्पन्न परिस्थितिको पनि चर्चा गर्नुभयो । महासचिव गुटेरेसले आफ्नो सम्बोधनबाट दिएको सन्देशमा केछ ?

न्यानो स्वागतका लागि धन्यवाद
महासचिव एन्टोनियो गुटेरेसले सांस्कृतिक विविधता बोकेको नेपालले दिएको न्यानो स्वागतको चर्चा गर्नुभयो । उहाँले लुम्बिनीको पवित्रता पनि उल्लेख गर्नुभयो ।

विश्व शान्तिका कुरा
संघीय संसदलाई सम्बोधन गर्दै महासचिव गुटेरेसले अशान्तिकाबीचमा आज भेट्दै गरेको प्रसंग उक्काउनुभयो । उहाँले हिंसा र द्वन्द्वहरु चुलिएको उल्लेख गर्नुभयो । र नेपालले संयुक्त राष्ट्रसंघको विश्व शान्ति अभियानमा पुर्याएको योगदानको चर्चा गर्नुभयो ।

इजरायल–हमास युद्धको प्रसंग
महासचिव गुटेरेसले मध्यपूर्वको द्वन्द्वले हजारौं कोश टाढा रहेको नेपाल समेत प्रभावित भएकोमा दुख व्यक्त गर्नुभयो । द्वन्द्वमा हराइरहेका विपिन जोशीको सकुशल आगमनको कामना गर्नुभयो ।

बढ्दो द्वन्द्वका कारण उत्पन्न संकट
महासचिव गुटेरेसले गरिबी र भोकमरीमा दशकौंको प्रगति उल्टिदै गएको उल्लेख गर्दै मुद्रास्फीतिले घरायसी र राष्ट्रिय बजेटलाई कमजोर पारेकोमा चिन्ता व्यक्ति गर्नुभयो ।

भूराजनीतिक तनाव र नेपाल
संसदमा सम्बोधन गर्दै महासचिवले भूराजनीतिको प्रसंग कोट्याउनुभयो । उहाँले विश्वव्यापी विभाजहरु गहिरो र खतरनाक भइरहेका बेला दुई ठूला शक्तिका बीचमा रहेर आफ्नो सार्वभौमसत्ता र स्वाधीनता रक्षाका लागि आफ्नो मार्ग आफैंले बनाएकामा नेपालको प्रशंसा गर्नुभयो ।

संक्रमणकालीन न्याय
संक्रमणकालीन न्याय जटिल प्रक्रिया भएकाले यसमा पीडितको चासो प्रमुखता बनाउनुपर्ने सन्देश महासचिव गुटेरेसले दिनुभयो । यसका लागि नेपाल र नेपाली आफैं सक्षम रहेको बताउनुभयो ।

जलवायु परिवर्तनका कुरा
महासचिव गुटेरेसले जलवायु परिवर्तको असर आफूले प्रत्यक्ष अनुभव गरेको बताउनुभयो । हालको विश्व संकटको सामना गर्न ठूलो अन्तर्राष्ट्रि सहयोग चाहिने भएकाले प्रति वर्ष कम्तिमा ५ खर्ब रकम प्रस्ताव गरेको उहाँले उल्लेख गर्नुभयो ।

दिगो विकासको लक्ष्यमा नेपाल
नेपालले लिएको दिगो विकासको लक्ष्य सह्रायनीय भएको भन्दै महासचिव गुटेरेसले त्यसका लागि सक्षम रहेको बताउनुभयो ।

१९ मिनेट सम्बोधन गर्नुभएका महासचिव गुटेरेसले शक्ति राष्ट्रलाई राम्रै सन्देश मात्र दिनुभएन, जलवायु परिवर्तनको असरका गम्भीर पाटो औंल्याउनुभयो । कुनैबेला राजा वीरेन्द्रले प्रस्ताव गरेको शान्ति क्षेत्र नेपाललाई महासचिव गुटेरेसले संस्थागतको प्रयास गरिदिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *