वैदेशिक अनुदान लगातार घट्दै
काठमाडौं : वैदेशिक अनुदान परिचालनको संरचना पछिल्ला वर्षहरुमा परिवर्तन हुँदै गएको छ ।
अनुदान क्रमशः घट्दो र ऋणको हिस्सा बढ्दो क्रममा छ । यो वर्षको ११ महिनामा बजेटमा राखिएको अनुदान प्राप्तिको लक्ष्यको ४१ प्रतिशत मात्र प्राप्त भएको छ । तर अर्थमन्त्री स्वर्णिम वाग्लेले वैदेशिक सहायता प्राप्तिको ठूलो अपेक्षासहित आगामी वर्षको बजेट बनाउनु भएको छ । विगतको लक्ष्य र प्राप्तिको तथ्यांक हेर्दा यो लक्ष्य स्रोत देखाउने नक्कली अंक मात्रै हो ।
पछिल्ला वर्षहरुमा नेपालले प्राप्त गर्ने वैदेशिक अनुदानमा व्यापक गिरावट आएको छ । लक्ष्यअनुसार राजस्व संकलन, पुँजीगत खर्चमा असफल भएको सरकार वैदेशिक सहायता परिचालनमा पनि चुकेको छ। मुलुकको विकासका लागि आन्तरिक स्रोत अपुग भएर वैदेशिक सहायता लिने गरिन्छ। तर वैदेशिक सहायताको लक्ष्य र प्राप्तबीचको अन्तर हरेक वर्ष बढ्दै गएको छ।
चालू आर्थिक वर्ष २०८२–०८३ मा सरकारले ५३ अर्ब ४४ करोड रुपैयाँ वैदेशिक सहायता प्राप्तिको लक्ष्य राखेको छ । र जेठ २८ गतेसम्म लक्ष्यको ४१.८९ प्रतिशत अर्थात् २२ अर्ब ३९ करोड रुपैयाँ मात्रै सहायता प्राप्त भएको छ । यो वर्ष लक्ष्यको अन्तिम सम्ममा ४५ प्रतिशत पनि नपुग्ने आँकलन भइरहेको छ । तर यस्तो अवस्थामा अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३–०८४ को बजेटमा भने सहायता प्राप्तको अनुमान यो वर्षको भन्दा बढाएर ६१ अर्ब ६४ करोड रुपैयाँको सहायता ल्याउने लक्ष्य राख्नु भएको छ ।
उसो त अर्थमन्त्री वाग्लेले नै जारी गरेको श्वेत पत्र (स्थितीपत्र) मा नेपालको वैदेशिक सहायता क्रमशः घट्दो क्रममा रहेको र ऋणको हिस्सा बढ्दै गएको स्विकार गर्नुभएको छ । एक दशकअघि २०७२–०७३ मा बजेटमा अनुदानको हिस्सा ४२ र ऋणको हिस्सा ५७ प्रतिशत थियो । तर अहिले त्यो परिवर्तन भएर ऋणको हिस्सा ८१ र अनुदान केवल १८ प्रतिशतमा झरेको छ।
तथ्यांकमा हेरौं पछिल्लो केही वर्षको अनुदान प्राप्तीको सरकारी लक्ष्य र यथार्थ ।
पछिल्लो ६ वर्षमा ३ खर्ब ३६ अर्ब रुपैयाँको अनुदान प्राप्तिको लक्ष्य रहेकोमा वास्तविक प्राप्ति १ खर्ब २१ अर्ब रुपैयाँ मात्रै छ ।
एक पटक पछिल्लो ६ वर्षको लक्ष्य र प्राप्तिको अंक हेरौं ।
आर्थिक वर्ष २०८१/०८२
लक्ष्य : ५२ अर्ब ३२ करोड रुपैयाँ
प्राप्ती : २३ अर्ब २० करोड रुपैयाँ
आर्थिक वर्ष २०८०/०८१
लक्ष्य :४९ अर्ब ९४ करोड रुपैयाँ
प्राप्ती : २२ अर्ब ७५ करोड रुपैयाँ
आर्थिक वर्ष २०७९/०८०
लक्ष्य : ५५ अर्ब ४५ करोड रुपैयाँ
प्राप्ती : २३ अर्ब रुपैयाँ
आर्थिक वर्ष २०७८/०७९ मा
लक्ष्य :५९ अर्ब ९१ करोड रूपैयाँ
प्राप्ती :१८ अर्ब १८ करोड रुपैयाँ
आर्थिक वर्ष २०७७/०७८
लक्ष्य : ६० अर्ब ५२ करोड रुपैयाँ
प्राप्ती : १६ अर्ब ९३ करोड रूपैयाँ
आर्थिक वर्ष २०७६/०७७
लक्ष्य : ५७ अर्ब ९९ करोड रुपैयाँ
प्राप्ती : १९ अर्ब ८१ करोड रुपैयाँ
यो तथ्यले पनि प्रष्ट पार्छ नेपाल वैदेशिक सहायता परिचालनमा बारम्बार चुकिरहेको छ ।
किन घट्दै छ अनुदान ?
अनुदान घट्नुमा वैदेशिक सहायता परियोजनाको कार्यान्वयन सुस्त हुनु, समयमै शोधभर्ना नहुनु हो । तर यसबीचमा विश्वव्यापी परिदृष्य र दाताको प्राथमिकता फेरिएका छन्। विश्व बैंक, एसियाली विकास बैंक, लगायतका दाताहरुले अनुदान सहायतामा कटौती गर्दै ऋणमा आधारित सहयोग बढाउँदै लगेका छन् । यसले गर्दा नेपालको ऋणको हिस्सा बढ्दै र अनुदानको हिस्सा घट्दै गएको छ ।
यस्तो अवस्थामा अनुदान प्राप्ति र त्यसको परिचालनको स्पष्ट मापदण्ड, कार्यविधि र निर्देशिका तयार गरी कार्यक्रम निर्माण गरी सहायता लिने र त्यसको पहिचालन गर्नुपर्ने जानकार बताउँछन् । तर, सरकारको ध्यान त्यसमा भन्दा पनि बजेटमा हावादारी अंक मात्र राखेर नक्कली स्रोत देखाउनमा नै जोड देखिन्छ

प्रतिक्रिया