एमालेमा ओली- निरंकुशताको नमुना
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्ना आलोचकप्रति निर्मम र निरंकुश बन्दै जानुभएको छ । ओलीले आफ्नो निर्णय र कार्यशैलीमा असहमति जनाउनेलाई पाखा लगाउने मात्र होइन सिध्याउने गरी आफ्ना क्रियाकलाप अघि बढाइरहनुभएको छ ।
पछिल्लोपटक पार्टीको सचिवालय बैठकमार्फत् ओलीले यस्तै केही आश्चर्यजनक निर्णयहरु गराउनुभएको छ । जसबाट आजीवन पार्टी राजनीतिमा समर्पित नेताहरुलाई किनारा लगाइएको छ भने ओलीको रुचिप्रतिकुल बोल्नेहरुको कस्तो हालत हुन्छ भन्ने सन्देश दिनुभएको छ ।
नेकपा एमालेको दशौँ महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिएका भीम रावल त्यसयता पूरा तीन वर्ष पार्टीको घोषित बहिस्करणमा पर्नुभयो । यसको कारण थियो केपी शर्मा ओलीविरुद्ध उम्मेदवारी दर्ता गर्नु । निर्वाचनमा पराजित भएपछि यत्रो समयसम्म भूमिकाविहीन भएका रावल अन्ततः पार्टीको संगठित सदस्यता समेत नरहने गरी निश्किासित हुनुभएको छ । यो बीचमा रावल ओलीका लागि ‘निहुँ खोज्नेलाई भीम रावल बनाइदिन्छु’ भनेर देखाउन काम लाग्नुभयो ।
दशौँ महाधिवेशनमा ओलीले तयार पारेको जित्नुपर्ने सूची बाहेकमा उम्मेदवारी दिएका घनश्याम भुसालको हालत लगभग रावलकै जस्तो भएको थियो । आफ्नो निर्वाचन क्षेत्र रुपन्देही–१ मा लोकप्रिय हुँदाहुँदै पनि ओलीले उहाँलाई सांसदको टिकट दिनुभएन । अन्ततः भुसाल एकीकृत समाजवादी पार्टीमा जानुभयो । पार्टी मिलाएर जानुपर्छ, विवाद गर्न हुन्न भनेको बदलामा वामदेव गौतम अहिले ओलीको हाँस्य कथाको पात्र बन्न थाल्नुभएको छ । पछिल्ला केही तयारीअनुसार गौतम पनि एकीकृत समाजवादीको सदस्य बन्दै हुनुहुन्छ ।
एमालेको नवौँ महाधिवेशनमा अध्यक्ष पदमा माधव नेपालतिर खुलेका वा सहयोग गरेका सबैलाई सिध्याउन लागिपरेका ओलीले यो बीचमा कयौँ सक्रिय नेताहरुलाई भूमिकाविहीन बनाइदिनुभएको छ । माधव नेपाल त अहिले एमालेमै हुनुहुन्न । तर नवौँ महाधिवेशनदेखि दशौँ महाधिवेशनसम्म सँगै आएका तर कहिलेकाँही नेतृत्वको आलोचना गर्ने वा खिलापमा कदम चाल्नेहरुलाई उहाँले कागती निचोरेसरी निचोर्ने र फ्याँक्ने क्रम चलाइरहनुभएको छ ।
उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, सचिव गोकर्ण विष्ट, योगेश भट्टराईलगायतका नेताले राम्रै राजनीतिक प्रभाव हुँदाहुँदै पनि महत्वपूर्ण जिम्मेवारी पाउन सकेका छैनन् । यतिमात्र होइन, सशस्त्र युद्धको विरासत छोडेर ओली क्याम्पमा पुगेका प्रभु साह, मणि थापा जस्ता नेताहरुले त ओलीको पेलाई र हेपाई सहन नसेर पार्टी नै छोडिसकेका छन् । तर अरु नेताहरु हेपिन र सहन अभिषप्त बनिसकेका छन् ।
यतिबेला ओलीले भीम रावलमाथि कारबाहीको डण्डा चलाउनुपर्ने मुख्य कारण चाँहि व्यवसायी मीनबहादुर गुरुङले दानमा दिने पार्टी कार्यालय प्रकरण हो । रावलले अदालतमा अभियुक्त बनाइएको व्यक्तिबाट दान लिएर पार्टी कार्यालय चलाउन हुन्न भन्दै आउनुभएको थियो ।
यो घानमा स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिना पनि परेका छन् । विवादित व्यापारीबाट पार्टी कार्यालय नै दानमा लिने विषयको यी दुई नेतृले विरोध गरेका थिए । उनीहरुले पार्टीकै कार्यकर्ताको रगत पसिनाबाट कार्यालय निर्माण गर्नुपर्ने अडान राखेका थिए । यही अभिव्यक्ति दिएको विषयले यी दुवैजनाले यसअघि नै पार्टीलाई स्पष्टीकरणसमेत बुझाइसकेका थिए । तै पनि उनीहरु ६ महिनाका लागि पार्टीको भूमिकाबाट आउट भएका छन् । यसलाई एमालेले पार्टीको अनुशासन कार्यान्वयन भएको जिकिर गर्छ ।
वैचारिक स्वतन्त्रताको चीरहरण
कुनै पनि राजनीतिक दलहरु व्यवस्थाभन्दा माथि हुँदैनन् । यो लोकतान्त्रिक व्यवस्था हो र यहाँ अभिव्यक्ति स्वतन्त्रता सुरक्षित छ । तर ओली राजमा एमालेले यो व्यवस्था स्वीकार गर्न मानिरहेको छैन । आफूभन्दा फरक मत राख्नेलाई अनुशासनको कारबाही गर्ने वा सकाउने ओली अभ्यासले पार्टीको आन्तरिक लोकतन्त्र मात्र होइन, मुलुककै लोकतन्त्रको उपहास भइरहेको छ । ओलीको यस्तो कदमले एमालेभित्र असन्तुष्टि चर्किँदै गएको छ । औपचारिक भेटघाटमा कतिपय नेताहरुले ओलीको अराजकताले आफूहरु आजित भएको सुनाउने गरेका छन् । यही कारण अहिले ओली सामाजिक सञ्जालमा निकै आलोचित हुँदै गएको देखिन्छ ।
पहिलोपटक प्रधानमन्त्री हुँदा ओलीको बचाउमा केन्द्रित भएको ठूलो सामाजिक सञ्जाल सर्कल अहिले मौन देखिन्छ । बरु ओलीले प्रतिवाद गरिदेउ भनेर बारम्बार भनिरहनु परेको छ । अध्यक्ष ओलीको निरंकुश व्यवहार र चेपुवाका कारण कतिपय नेताहरु पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेको सक्रिय राजनीतिमा ल्याउन लागिपरेका छन् । उनीहरु ओलीको थिचोमिचोका बीच नयाँ शक्ति केन्द्र बनाएर आत्मसम्मान जोगाउने कसरतमा लागेका छन् । त्यता पनि पनि खुल्न नसकेकाहरुका लागि भने एमाले भालुको कम्पारो बनेको छ ।
प्रतिक्रिया