युद्धको अवशेष, बालबालिकाको ‘हत्या’
काठमाडौं : १० वर्षे सशस्त्र द्वन्द्वको अन्त्य भए पनि द्वन्द्वकालमा त्यसै छोडिएका विष्फोट पदार्थ बालबालिकाले खेलौना ठानेर खेलाउँदा पाँचथरमा दुई जनाको मृत्यु भयो ।
यसअघि हिलिहाङ र फाल्गुनन्दमा पनि विष्फोट हुँदा तीन बालबालिका घाइते भएका थिए । शान्ति प्रकिया सुरु भएको लामो समय भएको तथा नेपाललाई बारुदी सुरुङ मुक्त घोषणा गरिए पनि यस्ता दुर्घटना भने रोकिएका छैनन् । दुई बालबालिकाको ज्यान जाने गरी भएको विस्फोटकप्रति राष्ट्रिय मानवअधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
पाँचथरको फालेलुङ गाउँपालिका वडा नम्बर ५ प्राङबुङको डाँडागाँउमा विहिबार दिउँसो करिब साढे ३ बजेतिर चर्को आवाजमा विष्फोट भयो । गाउँलेहरु कुदेर आए । बिष्फोटले दुई बालबालिका जलिरहेका थिए । एकाएक गाउँमा कोलाहल मच्चियो । कसरी यस्तो भयो भन्ने नै थाहा भएन । हतारहतार बालबालिकालाई स्वास्थ्य केन्द्र लगियो । परीक्षा सकेर बालबालिका छिट्टै घर आएर खेल्न निस्किएका थिए, त्यहीबेला दुर्घटनामा परे ।
दिलिप साँवाका ११ बर्षिय छोरा दिप्सन र २ बर्षिय छोरी प्रिन्सा साँवाको जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि वि एण्ड सि अस्पताल झापा रेफर गरियो । प्रिन्साको बाटैमा र दिप्सनको अस्पतालमा मृत्यु भयो । आईतबहादुर केरुङको घरमा विस्फोट भएको थियो । ११ बर्षिय पवन राईको जिल्ला अस्पताल पाँचथरमा उपचार भईरहेको छ । सामान्य घाईते दिपेश राई गाउँमै छन् । घाइते पवनले घरछेउमा एउटा बस्तु भेटिएको थियो । नजिक ल्याएर हम्बरले हानेर फुटाउन खोज्दा पढ्किएर दुई बालबालिकाको मृत्यु भयो ।
घटनास्थलमा रहेका प्रहरी निरिक्षक रुपेश तामाङका अनुसार घर छेउमै अर्को संकास्पद बस्तु पनि भेटिएको छ । द्वन्द्वकालको हो या नयाँ भन्ने यकिन छैन्। तर विष्फोटक पदार्थ भेटिएको ठाउँ द्वन्द्वका समयमा तत्कालिन विद्रोही पक्षको बाक्लो उपस्थिति रहेको ठाउँ हो ।
२०७४ साल बैशाखमा पाँचथरको हिलिहाङ गाउँपालिका वडा नम्बर ७ मा पनि यस्तै प्रकृतिको विष्फोट भएको थियो । जंगलको ओडारमा बिस्फोट हुँदा दुई जना घाइते भएका थिए । फाल्गुनन्द गाउँपालिकाको चिलिङदिनमा केहि बर्ष अगाडि बिस्पोट हुँदा एक बालकको हातका औला चुडिएका थिए ।
प्रतिक्रिया