Main News

माओवादी नेतृत्व आरोपीको बचाउमा (भिडियो रिपोर्टसहित)

२०८० माघ ८ गते १८:०६
माओवादी नेतृत्व आरोपीको बचाउमा (भिडियो रिपोर्टसहित)

८ माघ २०८० काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङविरुद्ध भ्रष्टाचारको गम्भीर आरोप लागेको छ भने पार्टीकै भ्रातृ संगठन अनेरास्ववियुकी अध्यक्ष पञ्चा सिंहविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

यस्तो अवस्थामा आरोपीहरुलाई निलम्बन गरेर अनुसन्धानलाई सघाउनुपर्ने माओवादी भने उनीहरुको घटनाको गहिराईमा प्रवेश नै नगरी बचाउमा केन्द्रित बनेको छ ।

नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङमाथि जाजरकोट भूकम्प प्रभावितका लागि चिनियाँ कम्युनिष्ट पार्टीले पठाएको राहत सामाग्रीमा भ्रष्टाचार गरेको गभीर आरोप छ । वैकल्पिक केन्द्रीय सदस्य गोरखबहादुर केसीले रुकुम पश्चिम र जाजरकोटका भूकम्प पीडितका लागि चिनियाँ कम्युनिष्ट पार्टीले पठाएको राहतमा महासचिव गुरुङले आफ्ना नातेदार मुक्ति मरासिनीसँग मिलेर अनियमितता गरेको आरोप लगाउनु भएको छ ।

राहत वितरणका लागि नेतृत्व गरेर पुगेकी चिनियाँ महिलामाथि हातपात भएको विषयमा पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिँदै केसीले महासचिवमाथि नै आरोप लगाउँदै छानविनका लागि पार्टी र सरकारको ध्यानाकर्षण गराउनु भएको थियो ।

आफ्ना महासचिवमाथि गंभीर आरोप लागेपछि तत्काल निलम्बन गरी छानविन गर्नुपर्नेमा पार्टी नै गुरुङको ढाकछोपमा देखिएको छ । पार्टी कार्यालयका मुख्य सचिव समेत रहेका कोषाध्यक्ष श्रीराम ढकाल विषयान्तर गर्नका लागि केसीले विना प्रमाण आरोप लगाएको भन्दै सहासचिव गुरुङले भ्रष्टाचार गरेको प्रमाण ल्याउन चुनौती दिनुहुन्छ ।

पार्टीका अन्य नेता तथा पदाधिकारीसमेत अनितयिमताको आरोप लागेका गुरुङको बचाउमा केन्द्रित छन् । यतिसम्मकी महासचिवमाथि कयौँ आरोप लगाइएको गोरखबहादुर केसीको पत्र नै सार्वजनिक भइसक्दा यसबारे छलफलसमेत भएको छैन ।

त्यसो त माओवादी नेताहरु अनेरास्वियु क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहविरुद्ध लागेको हत्या आरोपको समेत बचाउमा उत्रिएका छन् । पञ्चा सिंहलाई अदालतबाट पक्राउ पूर्जी नै जारी भैसकेको अवस्थामा निलम्बन गरेर अनुसन्धानमा सघाउनुपर्ने न्यूनतम दायित्वसमेत पूरा गरिएको छैन । सिंहविरुद्ध पक्राउ पूर्जी जारी भएको बिषय संक्रमणकाली न्याय र अदालतसँग सम्बन्धित भएकाले टिप्पणी गर्न आवश्यक नभएको ढकालको दाबी छ ।

१५ वर्षअघि भएको कालिकोटका राजबहादुर मल्लको हत्याको आरोपमा जिल्ला अदालत सुर्खेतले गत शुक्रबार अनेरास्वियु क्रान्तिकारीकी अध्यक्ष सिंहसहित ६ जनालाई पक्राउ गर्ने अनुमति दिएको थियो ।

यी दुई ताजा घटनाबाहेक पनि माओवादी नेतृत्व आरोपीहरुको बचाउमा विगतदेखि लाग्दै आएको छ । उपाध्यक्ष कृष्णबहादुर महरा मुछिएको बलात्कारको घटना होस् या सुन तत्करी प्रकरण होस्, माओवादी केन्द्र आरोपीहरुको संरक्षणमा केन्द्रित बन्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *