राष्ट्रियसभा सदस्यको निर्वाचनको मौन अवधि आज मध्यरातदेखि शुरु हुँदै
८ माघ २०८० काठमाडौं । राष्ट्रियसभा सदस्यको रिक्त सिटका लागि हुने निर्वाचनको मौन अवधि आज राति १२ बजेदेखि शुरु हुँदैछ ।
मौन अवधिमा उम्मेदवारका पक्ष विपक्षमा प्रचार गर्न पाइँदैन । कुनै पनि माध्यमबाट मत माग्न, निर्वाचनसम्बन्धी भेला–गोष्ठीलगायत कार्य गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचनमा आठ राजनीतिक दलका ५१ जना उम्मेदवार मैदानमा छन् । नेकपा एमालेका आठ, नेकपा एकीकृत समाजवादीका चार, नेकपा माओवादी केन्द्रका चार र नेपाली कांग्रेसका तीन राष्ट्रियसभा सदस्यको पदावधि फागुन २० गते सकिँदैछ ।
सदस्यको पदावधि समाप्त हुनु ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ । ५९ सदस्यीय राष्ट्रियसभाका एक तिहाइ सदस्यको प्रत्येक दुई वर्षमा पदावधि समाप्त हुने संवैधानिक व्यवस्था छ ।
निर्वाचनका लागि प्रदेशसभा सदस्य तथा पालिका प्रमुख र उपप्रमुख गरी दुई हजार २५ मतदाता कायम छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ५३ तथा पालिका प्रमुख र उपप्रमुखको मतभार १९ हुनेछ ।
राष्ट्रियसभाको रिक्त १९ पदका निम्ति यही माघ ११ गते निर्वाचन हुँदै छ । बिहान ९ देखि दिउँसो ३ बजेसम्मको समय निर्धारण गरिएको छ ।
प्रतिक्रिया