माटोमिश्रित मेलम्चीको पानी आएपछि खानेपानी मन्त्रालयको स्पष्टीकरण
३ माघ २०८० काठमाडौं । सरकारले वितरण सुरु गरेको मेलम्ची खानेपानी आउने धाराबाट माटोसहितको पानी आएपछि खानेपानी मन्त्रालय स्पष्टीकरण दिएको छ ।
आज मन्त्रालयले विज्ञप्ति जारी गर्दै पुराना पाइप लाइनहरू लामो समयसम्म सञ्चालन नहुँदा माटोको अवशेषका कारण पानी वितरण क्रममा केही समय पानी धमिलो आउनसक्ने जनाएको हो ।
मन्त्रालयले मेलम्ची खानेपानी विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम प्रशोधन गरी वितरण गरेको जनाएको छ । यस्तै मन्त्रालयले विस्तारै सफा पानी प्रवाह हुँदै जाने बताएको छ। यद्यपि पानीको गुणस्तरमा शंका नगर्न मन्त्रालयले आग्रह गरेको छ।
यस्तै मेलम्ची खानेपानी वितरणको समस्या समाधानका लागि सरकारले सहजीकरण समिति गठन गरेको छ । मन्त्रीस्तरको निर्णय अनुसार समस्या समाधानका लागि मेलम्ची खानेपानी विकास समितिका सीडीई पदमबहादुर कुँवरको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको हो ।
समितिको सदस्यहरूमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयूकेएलका उपप्रवन्धक उमेशबाबु मरहट्ठा, आयोजना कार्यान्वयन निर्देशनलायका सीडीई विकेश बधानथ्याचे र केयूकेएलकै दिपेश ढकाल छन् ।
सरकारले सोमबार काठमाडौंमा मेलम्चीको पानी वितरण शुरु गरेको थियो । २०७८ असार १, साउन १६ र १७ गतेको बाढीले मेलम्ची खानेपानीको मुहान क्षेत्र बगरमा परिणत गरेको थियो।
प्रतिक्रिया