Main News

धनुषास्थित भारतीय सीमाक्षेत्रका पुलको विवाद समाधानका लागि छलफल

हिमालय टिभी
२०८० माघ ३ गते १३:४२
धनुषास्थित भारतीय सीमाक्षेत्रका पुलको विवाद समाधानका लागि छलफल

३ माघ २०८० धनुषा । धनुषास्थित भारतीय सीमाक्षेत्रका पुलको विवाद समाधानका लागि छलफल भएको छ ।

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र भारतको बिहार मुज्जफ्रपुरका लोकसभा सदस्य एवं भारतीय जनता पार्टीका नेता अजय निषादबीच भारतको मुज्जफरपुरमा छलफल भएको हो ।

छलफलका क्रममा नेता निधिले धनुषाको नगराइन नगरपालिका र मुखियापट्टी मुसहरनिया पाउँपालिकासँग जोडिएका भारतीय सीमावर्ती क्षेत्रका पुल निर्माणका लागि अवरोध हटाउन भारतीय पक्षलाई आग्रह गर्नुभयो ।

उहाँले पटकपटक गरिएको आग्रहको सुनुवाइ नभएकाले उच्चस्तरमै छलफल हुनुपर्ने अवस्था आएको समेत बताउनुभयो । दुवै देशका जनतालाई आवातजावतमा सहजताका लागि दुवैतर्फ सडक बने पनि वर्षौँदेखि पुल निर्माण हुननसकेकाले यो विषय जनप्रतिनिधिको चासोको विषय बन्नुपर्ने उहाँको भनाइ थियो ।

छलफलमा भारतीय जनता पार्टीका नेता एवं सांसद निषादले पुल निर्माणमा भारतीय पक्षबाट भएको अवरोध समाधानका लागि आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले आफ्नो पार्टी नेतृत्वको केन्द्रीय सरकारका गृहमन्त्री अमित साहमार्फत सीमा सुरक्षा बल एसएसबीका अधिकारीसँग कुरा गरेर समस्या समाधान गर्ने जानकारी दिनुभयो ।

नेपालको जटही र भारतको पिपरौन जोड्ने मुख्य जमुनी नदी राजघाटको पुललाई छ लेन सडकअनुसार स्तरोन्नति गर्न समस्या भइरहेको छ ।

यस्तै नगराइन –६ लगमालाई भारतको लहरनियासँग जोड्ने झोलुङ्गे पुल, मुखियापट्टी मुसहरनिया गाउँपालिका–२ स्थित जमुनी नदीको अखरहैर घाट र सोही पालिकाको वडा नं ५ बैरियाटोलस्थित थल्हीघाटस्थित निर्माणाधीन पुलमा भारतीय सुरक्षा बलबाट अवरोध भइरहेको जनगुनासो छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *