दाङको बबई गाउँपालिका ७ मा पर्ने मलै गाउँको जीवन कष्टकर (भिडियो रिपोर्टसहित)
१ माघ २०८० दाङ । दाङको बबई गाउँपालिका ७ मा पर्ने मलै गाउँको जीवन कष्टकर छ । दुई सय घर परिवार रहेको यो गाउँ एउटा सानो उपत्यका हो।
सुगम जिल्ला दाङ भित्रको मलै गाउँमा मोटरबाटो व्यवस्थित छैन । फोन गर्नुपरे अग्लो डाँडा उक्लिनुपर्छ । निर्वाचनका बेला उम्मेदवारको प्राथमिकतामा पर्ने यो गाउँ निर्वाचन सकिएपछि जनप्रतिनिधिले नदेखेको नागरिकको गुनासो छ ।
दाङको बबई गाँउपालिका मलैका नागरिकहरूलाई अहिले पनि फोन गर्न घन्टौँ हिँडेर अग्ला डाँडा खोज्नु बाध्यता छ । वरिपरि अग्ला पहाड बीचैमा समथल स्थानमा रहेको मलैका नागरिकहरू सडक र सञ्चारजस्ता आधारभूत सुविधाबाट समेत बञ्चित छन् ।
गाउँमा विकास ल्याइदिने आश्वासन दिएर जित्ने नेता गाउँ नफर्किँदा उनीहरुको समस्याको समाधान हुन सकेको छैन । नेताहरुले आफूलाई भोट बैंकमात्र बनाए भन्ने स्थानीयको आरोप छ ।
मलैका नागरिकले सडक र संचारको सुविधा त पाएका छैनन् नै, राष्ट्रिय निकुञ्जबाट समेत थप पीडा भोग्नु परेको छ । बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने यो ठाउँमा जंगली जनावरको समस्या पनि उत्तिकै छ । लगाएको अन्नबाली जंगली जनावरले नष्ट गरिदिँदा बोलिदिने कोही छैनन् । वडा कार्यालय जान पनि दुई तीन घण्टा हिँड्नुपर्छ । सडकको दुरावस्थाका कारण वर्षा याममा कतै जानु परे हिँड्नुको विकल्प छैन ।
निर्वाचनको समयमा गाउँ आएर धेरै आश्वासन बाँड्ने र चुनाव जितेपछि फर्केर नहेर्ने नेताहरुले नागरिक आजित भइसके । तर, जनप्रतिनिधि भने गाउँपालिकासँगै मलै गाउँको विकासमा बजेट छुट्याएर काम भइरहेको बताउँछन् ।
गाउँगाउँमा सिंहदरवार भन्ने नारा लिएर स्थानीय तहको अवधारणा आयो । तर, स्थानीय जनप्रतिनिधिले ६ वर्षभन्दा बढी काम गरे पनि आफ्नो दुख जस्ताको तस्तै हुँदा नागरिक निरास छन् ।
प्रतिक्रिया