Main News

हिमालय टेलिभिजनले मनायो १४ औं वर्षगाँठ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० माघ १ गते १६:२८
हिमालय टेलिभिजनले मनायो १४ औं वर्षगाँठ (भिडियो रिपोर्टसहित)

१ माघ २०८० काठमाडौं । हिमालय टेलिभिजनले आज १४ औं वर्षगाँठ मनाएको छ ।

२०६७ साल माघ १ गते नेपाली आकाशमा उपस्थिति जनाएको हिमालय टेलिभिजन आज १३ औँ बसन्त पार गरी १४ औँ बसन्तमा प्रवेश गरेको हो । मध्यबानेश्वरस्थित टेलिभिजन मुख्यालयमा आयोजित समारोहलाई सम्बोधन गर्दै टेलिभिजनका अध्यक्ष धर्मराज भुसालले बदलिँदो परिस्थितअनुसार टेलिभिजनको माध्यम विस्तारै विभिन्न प्लेटफर्ममा रुपान्तरण हुँदै जाने बताउनुभयो ।

इन्टरनेट र प्रविधिका माध्यमबाट टेलिभिजनका दर्शक विभिन्न माध्यममा बाँडिए पनि यसको औचित्य र आवश्यकतामा कुनै कमि नआएको उहाँको भनाइ थियो । उहाँले मुलुक आर्थिक संकटमा गुज्रिए पनि टेलिभिजनले श्रमजीवि पत्रकार र कर्मचारीलाई कुनै पनि समस्या आउन नदिने प्रतिबद्धता समेत जनाउनुभयो ।

कार्यक्रममा टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले एचडी प्रविधियुक्त टेलिभिजनबाट दर्शकले समाचार र मनोरञ्जनात्मक कार्यक्रम एकै थलोबाट पाइरहेको बताउनुभयो । थप नयाँ कार्यक्रम ल्याएर दर्शकलाई टेलिभिजनप्रतिको भरोसा जगाउन केन्द्रित रहने उहाँको प्रतिबद्धता थियो ।

कार्यक्रममा समाचार प्रमुख राजेन्द्र बानियाँले आवाजविहीनको आवाज बनेर गहकिलो, अनुसन्धानमूलक समाचार निर्माणमा सधैँ अग्रसर रहने बताउनुभयो । उहाँले टेलिभिजन हेर्ने माध्यम परिवर्तन हुँदै गएकाले सोही अनुसार टेलिभिजनको उपस्थिति पनि जनपेक्षा अनुसार विभिन्न माध्यममा परिस्कृत हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा टेलिभिजन मार्केटिङका महाप्रबन्धक गोविन्द ढकाल र टेलिभिजनका महाप्रबन्धक यज्ञ अधिकारी लगायतले पनि वार्षिकोत्सवको अवसरमा शुभकामना दिनुभएको थियो ।

टेलिभिजनले समाचार बाहेक यक्ष प्रश्न, द भ्वाइस अफ नेपाल, भ्वाइस अफ किड्स, हिमालय रोडिज, हिमालय लोकस्टार र इन्द्रेणी जस्ता लोकप्रिय कार्यक्रम प्रसारण गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *