Main News

माघे संक्रान्ति : चाकु बनाउन चटारो (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० पुष २८ गते १८:१५
माघे संक्रान्ति : चाकु बनाउन चटारो (भिडियो रिपोर्टसहित)

२८ पुस २०८० काठमाडौं । माघे संक्रान्तिमा चाकु खाने प्रचलन रहेकाले माघे संक्रान्तिमा चाकुको खपत पनि बढी हुन्छ । पर्व नजिकिएसँगै काठमाडौंमा चाकु उत्पादन र व्यापारमा तीव्रता आएको छ ।

काठमाडौंको टोखा, ललितपुरको पाटन लगायतका क्षेत्रमा चाकुको उत्पादन र व्यापार बढेको हो । जाडोमा गर्मी बढाउन अर्थात् शरीरलाई तातो बनाउनका लागि यसको प्रयोग हुने गर्दछ । माघे संक्रान्ति र जाडोयामलाई लक्षित गरेर काठमाडौंका चाकु व्यवासायी चाकु बनाउन व्यस्त छन् ।

चाकुका लागि नेपालमै प्रसिद्ध ठाउँ हो टोखा । माघे संक्रान्ति नजिकिँदै गर्दा टोखाका व्यवसायीहरुलाई अहिले चाकु बनाउने चटारोले छोपेको छ । मकर संक्रान्तिमा घिउ, चाकु खाने प्रचलनका साथै जाडोयाममा शरीरलाई न्यानो र ऊर्जा दिने भएकोले यहाँका व्यवसायी मसिंरदेखि माघ महिनासम्म चाकु बनाउन व्यस्त हुन्छन् ।

चाकु व्यवसायीका अनुसार उद्योगमा अहिले दैनिक एक हजार किलो भन्दा बढी चाकु उत्पादन भइरहेको छ । अन्य समयमा परिवारकै सदस्यले चाकु बनाउने गरेपनि पुसदेखि माघसम्म भने व्यवसायीले कामदार नै राखेर चाकु उत्पादन गर्छन् ।

टोखामा हाल एक दर्जनभन्दा बढी चाकु बनाउने उद्योगहरु छन् । ती उद्योगमा सादा, स्पेसल, खुवा चाकु र सुत्केरीका लागि विशेष चाकु बनाइन्छ ।

बदाम, किसमिसलगायत राखेर बनाइने स्पेसल तथा सुत्केरीका लागि हुने चाकु अर्डर अनुसार मात्र बनाइने गरिन्छ। नेवारी समुदायमा चाकुको सांस्कृतिक तथा धार्मिक महत्व रहिआएपनि हाल काठमाडौंभन्दा बाहिरका जिल्लामा पनि चाकुको माग बढ्दो छ ।

माघे संक्रान्तिमा मात्र नभई अन्य समयमा अमेरिका, युरोप,अष्ट्रेलिया र चीन लगायत देशमा पठाउन पनि उद्यमी यसरी नै ब्यस्त हुने गर्दछन् । मकर संक्रान्तिमा घिउ र चाकुको परिकार निकै महत्वपूर्ण मानिन्छ । चाकु सुत्केरी भएको अवस्थामा खाँदा पनि दुध आउने र न्यानो हुने भएकाले बढी माग हुने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *