दाङमा भएको बस दुर्घटना १२ जनाको मृत्यु, २३ जना घाइते
![दाङमा भएको बस दुर्घटना १२ जनाको मृत्यु, २३ जना घाइते](https://www.himalayatv.com/wp-content/uploads/2024/01/accident.jpg)
२८ पुस २०८० दाङ । दाङमा भएको बस दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा ११ पुरुष र एक महिला छन् ।
दुर्घटनामा २३ जना घाइते भएका छन् । मृत्यु हुनेमा काठमाडौंको चन्द्रागिरीका ६५ वर्षीय ताराकान्त पाण्डे, नेपालगञ्जका ६० वर्षीया कुसुम बस्नेत, जुम्लाका ४० वर्षका मुनबहादुर राउत, हेटौंडाका ३९ वर्षीय सौरभ विष्ट, बाँकेका ३० वर्षका रामवरण हरिजन र रुकुमका २५ वर्षीय दिपक कामी छन् ।
यसैगरी भारतको बिहारका ६७ वर्षका योगेन्द्र राम र उत्तरप्रदेशका ३१ वर्षका मुनेको पनि मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ । चार जनाको सनाखत हुन बाँकी छ । घाइतेमध्ये १४ जनाको कोहलपुर अस्पताल, सात जनाको बुटवल र दुई जनाको भालुवाङमा उपचार भइरहेको छ ।
नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको यात्रुवाहक बस गएराति साढे १० बजेतिर राप्ती गाउँपालिका(१ भालुबाङस्थित राप्ती नदीको पुलबाट खसेको थियो । अधिकांशको बसले च्यापिएर मृत्यु भएको बताइएको छ ।
दाङ र अर्घाखाँची जिल्लालाई जोड्ने पुलको रेलिङ भाँच्दै बस नदीमा खसेको थियो । बसमा चालकसहित ३६ जना सवार थिए । प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ ।
यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुर्घटनामा घाइते भएकाहरुको प्रभावकारी उपचारका लागि निर्देशन दिनु भएको छ। प्रधानमन्त्री प्रचण्डले उद्धार र उपचारमा प्रभावकारी भूमिका निर्वाह गर्न सरकारका सम्बन्धित निकायलाई निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया