सभापति चयनसँगै अन्त्य गरियो सुदूरपश्चिम प्रदेश अधिवेशन

२५ पुस २०८० धनगढी । प्रदेशसभाको कार्यकाल सुरु भएको एक वर्षपछि विषयगत समितिले सभापति पाएको छ ।
गत जेठमा समिति गठन भएपनि सत्ता गठबन्धनबीच भागवण्डाको कुरा नमिल्दा सुदूरपश्चिमका विषयगत समितिको नेतृत्व जेष्ठ सदस्यले गरिरहेका थिए ।
चारवटा विषयगत समिति नेपाली कांग्रेस, नेकपा एमाले, नागरिक उन्मुक्ति र एकीकृत समाजवादीका सांसदले नेतृत्व गर्नेछन् ।
विधायन तथा प्रदेश मामिला समितिमा नेपाली कांग्रेसका दिवानसिंह विष्ट, सार्वजनिक लेखा समितिमा नेकपा एमालेका वीरबहादुर थापा, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा नागरिक उन्मुक्ती पार्टीका घनश्याम चौधरी र सामाजिक विकासमा एकीकृत समाजवादीका माया पन्त सभापति निर्वाचित भएका हुन् ।
नेकपा माओवादी केन्द्रले भने प्रदेश सभा बैठक सञ्चालन भएपछि बन्ने विशेषाधिकार समितिको सभापति पाउने सहमति सत्तारुढ दल कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र नाउपाबीच भएको छ ।
आज निर्विरोध निर्वाचित भएका सबै पदाधिकारीलाई सभामुख भीमबहादुर भण्डारीले पद तथा गोपनियताको शपथ गराउनुभयो ।
प्रतिक्रिया