क्रिकेटर सन्दीपविरुद्ध आज सजाय तोकिँदै
२५ पुस २०८० काठमाडौं । जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई आज सजाय तोकिँदैछ ।
किशोरी बलात्कारको अभियोगमा दोषी ठहर भएका राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान समेत रहेका लामिछानेलाई आज सजाय निर्धारण हुन लागेको हो ।
काठमाडौं जिल्ला अदालतले बलात्कार कसुरमा कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्नेछ । न्यायाधीश शिशिरराज ढकालले चार दिनको बहसपछि पुस १३ गते गौशाला २६ माथिको बलात्कार मुद्दामा दोषी ठहर गर्दै सजाय तोक्न आजका लागि पेशी तोक्नु भएको थियो ।
अदालतले गौशाला २६ नाबालिग नभएको ठहर गरेकाले लामिछानेलाई ७ देखि १० वर्षसम्म कैद सजाय हुनसक्ने छ । उनले अपराध संहिता २०७४ को दफा २१९ (१) (२), (३) ङ बमोजिम कसुर गरेको अदालतको ठहर छ ।
दफा २१९ (१), (२), (३) (ङ) मा १८ वर्ष माथिकालाई बलात्कार गरेको ठहर भए ७ देखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । जिल्लाको फैसलाको पूर्णपाठ तयार भएपछि त्यसमा चित्त नबुझेमा मुद्दाका दुबै पक्षले उच्च अदालत पाटनमा पुनवेदन दिन पाउने छन् ।
प्रतिक्रिया