पञ्चेश्वर जलविद्युत आयोजनाको ब्रेक थ्रु केही दिनमैः प्रधानमन्त्री प्रचण्ड

२५ पुस २०८० काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पञ्चेश्वर जलविद्युत परियोजनाको ब्रेक थ्रु केही दिनमै हुने दाबी गर्नुभएको छ ।
सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमण र केही दिनअघि भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणले दुई देशको सम्बन्धलाई मजबुत बनाउनका साथै १० हजार मेगावाट विद्युत भारतले किन्ने सम्झौता लागू भएको बताउनु भयो । उहाँले पञ्चेश्वर अन्तिम चरणमा पुगेको र यो परियोजना दुवै देशको राष्ट्रहीतमा रहेको बताउनु भयो ।
प्रधानमन्त्री प्रचण्डले भारतीय विदेशमन्त्री जयशंकरको नेपाल भ्रमणका क्रममा भएका सम्झौता खुला राख्न सरकारलाई कुनै आपत्ति नरहेको बताउनुभयो । उहाँले भारतीय दुतावासले सिधै २० करोड खर्च गर्न पाउने प्रकृतिका सम्झौता भारतसँग मात्रै नभइ अन्य देशहरुसँग पनि हुँदै आएको दाबी गर्नुभयो ।
बैठकमा सन् २००३ मा भारतसँग यस्तो सम्झौता भएदेखिको विकासक्रम सुनाउँदै उहाँले यसअघिका सबै सरकार यो सम्झौतामा संलग्न रहेको स्पष्ट गर्नुभयो ।
भारतीय दूतावासलाई २० करोड रुपैयाँसम्म सिधै खर्च गर्न पाउने सम्झौतालाई लिएर सांसदहरूले राखेको जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले यो सम्झौतालाई राष्ट्रघात भएको भन्न नमिल्ने बताउनुभयो ।
प्रतिक्रिया