Main News

राष्ट्रिय सभा निर्वाचन, आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

हिमालय टिभी
२०८० पुष २४ गते १३:३५
राष्ट्रिय सभा निर्वाचन, आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

२४ पुस २०८० काठमाडौं । राष्ट्रिय सभा सदस्यका लागि मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आज दाबी विरोध र उजुरी हाल्न सकिनेछ ।

निर्वाचन आयोगले हिजो मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आज दाबीविरोध र उजुरीको कार्यतालिका रहेको जनाएको छ । आगामी फागुन २० गते रिक्त हुने २० सिटमध्ये निर्वाचन हुने १९ सिटका लागि हिजो सात प्रदेशबाट ५२ जनाले मनोनयन दर्ता गराएका छन् ।

उनीहरूविरुद्ध परेको उजुरीको भोलि र पर्सी जाँचबुझ गरी उम्मेदवारीको नामावली प्रकाशन गर्ने कार्यतालिका छ । पुस २७ गते नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । उम्मेदवारलाई निर्वाचन चिह्न पुस २८ प्रदान गरिने छ ।

निर्वाचनमा विभिन्न प्रदेश र क्षेत्रबाट महिला, दलित, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र अन्य समुदायबाट सदस्य निर्वाचित हुनेछ । निर्वाचनमा प्रदेशसभा सदस्य र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख मतदाता हुने कानुनी व्यवस्था छ ।

प्रदेशसभा सदस्य ५ सय ४९ र पालिका प्रमुख र उपप्रमुख गरी जम्मा २ हजार ४७ जनाको मतदाता नामावली स्वीकृत भएको छ ।

प्रदेशसभा सदस्यको मतभार ५३ तथा पालिका प्रमुख र उपप्रमुखको मतभार १९ हुनेछ । निर्वाचनमा प्रदेशसभा सदस्यको कूल मतभार २९ हजार ९७ र पालिका प्रमुख र उपप्रमुखको कूल मतभार २८ हजार चार सय ६२ रहने आयोगले जनाएको छ ।

निर्वाचनमा सात प्रदेशमा एकएक मतदानस्थल र दुई-दुई मतदान केन्द्र कायम गरिएको छ । मतदान माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । माथिल्लो सदनका रुपमा रहेको ५९ सदस्यीय राष्ट्रियसभाका एक तिहाइ सदस्यको कार्यकाल प्रत्येक दुई वर्षमा सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *