Main News

निरीह गगन–विश्व : फड्के किनाराको साक्षी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० पुष २३ गते १७:५५
निरीह गगन–विश्व : फड्के किनाराको साक्षी (भिडियो रिपोर्टसहित)

२३ पुस २०८० काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा पार्टीभित्र फड्के किनाराको साक्षी मात्र बनिरहेका छन् ।

पार्टीको निर्णयमा चित्त बुझेन भन्दै बाहिर आएर दाह्रा किट्छन् । तर, निर्णय फिर्ता गराउन पनि सक्दैनन् न पदबाट राजीनामै गर्न सक्छन् । उनीहरु राष्ट्रियसभाको निर्वाचनमा पनि साक्षी मात्र बनेका छन् । कांग्रेसभित्र शक्तिशाली मानिने महामन्त्री पार्टीको निर्णयपक्रियामा किन यति निरिह ?

नेपाली कांग्रेसले आइतबार अबेर राति गठबन्धनभित्र भाग लगाउँदा आफ्नो भागमा परेको १० उम्मेदवारको नाम तय गर्यो । जसमा महामन्त्री गगन थापाले लिखित २ बुँदे र अर्का महामन्त्री विश्वप्रकाश शर्माले मौखिक ६ बुँदे असहमति राख्नुभयो ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको पौष १२–१४ गतेसम्म बसेको बैठकले राष्ट्रिय सभाको उम्मेदवार चयन सम्बन्धमा मापदण्ड नै बनाएको थियो । जसमा हालसम्म कुनैपनि अवसर नपाएका वा विभिन्न कारणले अवसरबाट वञ्चित भएका योग्य तथा लोकप्रिय ब्यक्तिलाई प्राथमिकता दिने भनिएपनि उम्मेदवार चयन गर्दा पालना नगरिएकोमा उहाँहरुको असन्तुष्टि रह्यो । तर, उहाँहरुको आवाज कांग्रेस संसदीय बोर्डमा सुनिएन । न त उहाँहरुले महामन्त्री पदको मर्यादा नै राख्न सक्नुभयो ।

१० जना उम्मेदवार छान्दा ६ जना संस्थापन र ४ जना संस्थापनइतर समूहबाट भागवण्डा भयो । जसमा महामन्त्री थापा र शर्मा निकट कोही पनि अटाएनन् । बरु शेखर कोइराला निकटले भाग पाए ।

संसदीय बोर्डमा सभापति देउवा हाबी हुँदा महामन्त्री शर्माले उम्मेदवार चयनका सन्दर्भमा सभापतिको कार्यशैलीप्रति आपत्ति जनाए । टिकट वितरण न्यायपूर्ण नभएको दुवै महामन्त्रीको साझा निष्कर्ष रहेपनि त्यसले निर्णय प्रक्रियामा कुनै अर्थ राखेन । संस्थापनपक्षका नेताहरु भने महामन्त्रीको असन्तुष्टि आफूले भनेको मान्छे नसमेटिँदाको आक्रोश मात्र भएको दाबा गर्छन् ।

कांग्रेस पार्टीभित्र महामन्त्री शक्तिशाली पद हो । जसको आवाज पार्टीभित्र बलियो गरि सुनिनुपर्ने हो । तर, विगतमा मन्त्री बनाउँदा होस् वा अहिले राष्ट्रियसभाको उम्मेदवार छान्दा पार्टीभित्र महामन्त्री थापा र शर्मा निरिह देखिएका छन् ।

पार्टीभित्र आफ्नो पक्षमा केन्द्रीय सदस्य र संसदीय दलमा संसदको समर्थन महामन्त्रीहरुको पक्षमा कमजोर छ । महामन्त्रीहरुको यो कमजोरी बुझेका सत्ताका माहिर खेलाडी शेरबहादुर देउवा पटक पटक पार्टीभित्र महामन्त्रीहरुलाई निरिह देखाउन सफल बनिरहनुभएको छ । महामन्त्रीहरु केही गर्न नसकेकोभन्दै पदबाट राजीनामा दिदैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *