१३८ किलो सुन तस्करीमा संलग्न आठ जना चेल चलान
२३ पुस २०८० काठमाडौं । १३८ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका ८ जना पुर्पक्षका लागि जेल चलान भएका छन्।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश शंकरबहादुर राईको इजलासले सबै प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। दुबईबाट १४ किलो सुन लिएर आएका गोरखा बारपाकका चन्द्र घलेलाई पक्राउ गरेपछि थप तस्करीबारे खुलेको थियो।
विमानस्थल भन्सार कार्यालयले अनुसन्धानका क्रममा यो समूहले १३८ किलो सुन तस्करी गरेको भन्दै सोही बराबर बिगो र जरिवाना दाबी गरेको छ। पछिल्लो पटक सुन लिएर आएका चन्द्र घले, नेपालमा सुन तस्करीको व्यवस्थापन गर्ने मिनबहादुर घले, यसअघि सुन तस्करी गर्ने स्याङ्जाका कृष्णकुमार श्रेष्ठ पुर्पक्षका लागि कारागार चलान भएका छन्।
यही मुद्दामा प्रतिवादी बनाइएका डीबी भन्ने दनबहादुर गुरुङ र उनकी पत्नी बिना गुरुङ भने फरार छन्। यस्तै तस्करीको सुन विमानस्थलबाट गिरोहको घरसम्म पुर्याइदिने विमानस्थलका कर्मचारीहरु राधाकृष्ण श्रेष्ठ, लेकबहादुर तामाङ, रमेश देउला, अनिल श्रेष्ठ, शेरबहादुर बस्नेत जेल चलान भएका हुन्।
सुन तस्करीमा नाम जोडिएका र बयानमा पोलिएका अंकित अग्रवाल, राजेन्द्र बस्नेत, बिमल पोद्दार, राजकुमार भारती, जीवन गुरुङ, गुरु भन्ने व्यक्तिहरुको एकिन नाम, थर, वतन र कसुर खुलेका बखत पेश गरिने भएको छ।
प्रतिक्रिया