Main News

धादिङ पुग्यो सेनाको एकीकरण पदयात्रा

२०८० पुष २२ गते १५:२९
धादिङ पुग्यो सेनाको एकीकरण पदयात्रा

२२ पुस २०८० धादिङ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले गोरखा राज्य विस्तारका क्रममा प्रयोग गरेको पदमार्गलाई पहिचान गरी नेपाली सेनाले सुरु गरेको एकीकरण पदमार्ग पदयात्रा धादिङ आइपुगेको छ ।

नेपाली सेनाले पृथ्वी जयन्तीको अवसर पारेर ऐतिहासिक नेपाल एकीकरणका क्रममा प्रयोग भएको पदमार्गको संरक्षणका लागि टर्च, राष्ट्रिय झण्डा र पृथ्वीनारायण शाहकै पालामा स्थापना भएको नेपाली सेनाका पाँच कम्पनीका झन्डासहित सुरु पदयात्रा धादिङ आइपुगेको हो ।

रिपुमर्दन गणले धादिङको शिवदल गणलाई आज झण्डा र टर्च हस्तान्तरण गरेपछि धादिङ खण्डको ४२ किलोमिटरको पदयात्रा सुरु गरेको शिवदल गणका ४१ जनाले धादिङ खण्डको पार गरेपछि सोमबार जर्वजंग गणलाई टर्च हस्तान्तरण गर्नेछ ।

पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा १८०२ मा नुवाकोटमा हमला गर्दा गोरखा राज्यले बूढीगण्डकी किनारमा रहेको बोर्लाङ्गघाट पार गरी सल्यान्टार, सामरी भञ्ज्याङ हुँदै धादिङको पदमार्ग प्रयोग गरेको इतिहास छ ।

तत्कालीन समयमा काठमाडौंको हनुमान ढोका र गोरखासम्मको दुरी २६ कोस रहेको र कोसैपिच्छे ढुङ्गा गाडिएकोमा सात वटा कोसेढुङ्गा धादिङमा रहेका छन् । सल्यान्टार रानीपौवा, हांसेपसल, खहरेबजार, लाकुरी, कटुञ्जे, भोक्टिनी र थर्पुमा कोशेढुङ्गा छन्। । धादिङ खण्डमा दुई दिन हुने पदयात्रा यिनै कोशेढुङ्गा भएर गरिने छ ।

२१ गतेदेखि सुरु भएको पदयात्रा पुस २७ गते पृथ्वी जयन्तीका दिन काठमाडौं पुगेर सकिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *