Main News

सर्लाहीको बरहथवामा प्रदर्शन चर्किएपछि भोलि बिहानसम्मका लागि कर्फ्यु

हिमालय टिभी
२०८० पुष २२ गते १५:१९
सर्लाहीको बरहथवामा प्रदर्शन चर्किएपछि भोलि बिहानसम्मका लागि कर्फ्यु

२२ पुस २०८० सर्लाही । सर्लाहीको बरहथवामा तनाव झन बढेपछि स्थानीय प्रशासनले पुनः कर्फ्यू आदेश जारी गरेको छ ।

आन्दोलनकारीले प्रदर्शन चर्काएपछि स्थानीय प्रशासनले आवज दिउँसो पौने एक बजेदेखि भोलि बिहान ८ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो ।

मृतक परिवार तथा आन्दोलनकारीले मृतकलाई शहीद घोषणा, मृतकको नामबाट प्राथमिक स्वास्थ्य केन्द्र बरहथवाको नामकरण र स्तरोन्नती तथा बरहथवाका मेयरको राजीनामा लगायतका माग राखेर प्रदर्शन गरिरहेका छन ।

विरोध प्रदर्शनका कारण सार्वजनिक तथा नीजि सम्पत्ति र संरचनामा भएको तोडफोड, आगजनी नरोकिएकाले कर्फ्यू आदेश जारी गरीएको प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालयले बरहथवास्थित पूर्वमा सीतापुर जाने बाटोको ब्रम्हस्थान, पश्चिममा हजरिया जाने बाटो, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा चोर्निया पुलसम्म कर्फ्यू लगाइएको हो ।

बरहथवा नगरपालिका स्थित प्राथमिक स्वास्थ्य केन्द्र प्रदेश सरकारलाई हस्तान्तरण गरी ५० शैय्याको बनाउने बिषयामा विवाद भए पछि गत शुक्रवार दिउँसो आन्दोलन भएको थियो ।

आन्दोलनको क्रममा प्रहरीले चलाएको गोली लागेर स्थानीय ३० वर्षीय जयशङ्कर साहको मृत्यु भएपछि बरहथवा बजार क्षेत्र अशान्त बनेको छ । मृतकको शव शुक्रबारदेखि नै घटनास्थलमै राखेर स्थानीयले प्रदर्शन गरिरहेका छन ।

शुक्रबार दिउँसो साहको मृत्यु भएपछि प्रहरीले साँझ साढे ५ बजेदेखि शनिबार बिहान ८ बजेसम्म कफ्र्यु आदेश जारी गरेको थियो । शनिबार बिहान ८ बजेदेखि आइतबार बिहान ८ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो । गृहमन्त्रालयले घटनाको छानबिनको लागि समिति र मृतकका परिवारलाई १० लाख दिने निर्णय गरे पनि प्रदर्शन रोकिएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *