तमोर कोरिडोरको ट्र्याक खुलेसँगै यस क्षेत्रमा चहलपहल (भिडियो रिपोर्टसहित)
२० पुस २०८० पाँचथर । पूर्वी पहाडको लाइफ लाइनको रुपमा लिइएको सुनसरीको चतरादेखि पाँचथरको गणेश चोक जोड्ने तमोर कोरीडरको मुलघाट–गणेश चोक खण्ड कालोपत्रे गर्ने काम जारी छ । दुई प्याकेजमा १ सय १० किलोमिटर सडक कालोपत्रे गर्ने कामले तीव्रता पाएसँगै स्थानीय उत्साहित छन् ।
सुनसरीको चतरादेखि मुलघाट हुँदै पाँचथरको गणेश चोक पुग्ने तमोर कोरिडोरको ट्र्याक खुलेसँगै यस क्षेत्रमा चहलपहल बढ्न थालेको छ । उत्तरी सीमा र पूर्वी पहाडका क्षेत्रहरुलाई पूर्व–पश्चिम राजमार्गसँग जोड्ने यो सडक आर्थिक र रणनीतिक आधारमा महत्वपूर्ण मानिएको छ ।
एक वर्षअघि खोलिएको ट्र्याकमा अहिले कालोपत्रेको काम अघि बढेको हो । यो सडकले पाँचथर, ताप्लेजुङ, तेह्थुम र धनकुटाका बासिन्दालाई धरान, प्रदेश राजधानी विराटनगर तथा काठमाण्डौँ लगायतका ठाउँको यात्राका लागि दुरी छोट्याउने छ ।
तीन अर्ब ६४ करोडमा ठेक्का सम्झौतामा सडक निर्माणको काम भइरहेको छ । ६६ किलोमिटर रौतहा क्षमादेवी जेवीले २ अर्ब ४० करोडमा र बाँकी खण्डमा एफएक्स कम्पनीले एक अर्ब २४ करोडमा ठेक्का सम्झौता गरेको हो। अहिले चतरादेखि गणेशचोकसम्मको एक सय ५८ किलोमिटरमध्ये अहिले एक सय १० किलोमिटर सडक कालोपत्रे चलिरहेको छ ।
तमोर कोरिडर चतरादेखि पाँचथरको सुभाङखोला, ताप्लेजुङको ओलाङचुङ गोलाहुँदै चीनको सिमाना टिप्तलासम्म अघि बढ्छ । यो आर्थिक बर्षमा ५७ करोड बजेट विनियोजन गरिएको थियो । तर बजेट अपुग हुने आयोजनाले जनाएको छ ।
छोटो समय र दूरीमा प्रदेश तथा संघीय राजधानी पुग्न सकिने सडक निर्माण बजेट अभावले समयमा सम्पन्न नहुने हो कि भन्ने स्थानीयलाई चिन्ता छ ।
प्रतिक्रिया