Main News

खोजी सूचीमा रहेका भारतीय नागरिक सिंहलाई गोली हानेर नियन्त्रणमा लिइयो

हिमालय टिभी
२०८० पुष ११ गते १३:२३
खोजी सूचीमा रहेका भारतीय नागरिक सिंहलाई गोली हानेर नियन्त्रणमा लिइयो

११ पुस २०८० बारा । नेपाल प्रहरीको खोजी सूचीमा रहेका भारतीय नागरिक सुजित सिंहलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ ।

कलैया उपमहानगरपालिका–६ मा रहेको बाल एकता माध्यमिक विद्यालय बोर्डिङ स्कुलका सञ्चालक तथा प्रिन्सिपल रुपेश स्वर्णकारको हत्या आरोपी सिंहलाई सीमावर्ती विश्रामपुर गाउँपालिकाबाट गोली हानेर नियन्त्रणमा लिइएको हो ।

भारत विहार राज्यको तीनकोनी गाउँका ३५ वर्षीय सिंहको दुवै खुट्टामा गोली लागेर घाइते भएकाले प्रादेशिक अस्पताल कलैया लगिएको छ । सिंहले रूपेशलगायत अर्का युवकको हत्यामा सुटरको काम गरेको प्रहरीको दाबी छ ।

नियन्त्रणमा लिन खोज्दा भाग्न लागेपछि गोली प्रहार गरिएको प्रहरीले जनाएको छ । प्रहरीले सिंहको साथमा रहेको बन्दुक र त्यसमा लाग्ने गोलीसमेत बरामद गरेको जनाएको छ । सिंह हतियारसहित नेपाल प्रवेश गरेको सूचनापछि खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको प्रहरी अधिकारीको भनाइ छ ।

रूपेशको हत्या आरोपित यसअघि एक महिलासहित पाँच जना पक्राउ परेका थिए । उनीहरूमाथि संगठित अपराध मुद्दा चलाएर प्रहरी हिरासतमा राखिएको छ । गत कात्तिक १३ गते सोमबार पौने १ बजेतिर स्वर्णकारको कलैयाको मदर्सा टोलमा गोली प्रहार गरी हत्या गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *