प्रचण्डको सुशासनः विवादको बचाउमै सीमित

१० पुस २०८० काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका अनुसार सरकार र उहाँकै पनि पहिलो प्राथमिकता हो सुशासन । तर एक वर्षे कार्यकालमा प्रधानमन्त्री प्रचण्डले सुशासन शब्द चटक्कै विर्सिएर आफूलाई कुशासन केन्द्रित गर्नुभएको छ ।
एक वर्षे कार्यकालमा उहाँका अभिव्यक्ति र गतिविधिले कुशासनलाई प्रश्रय मात्र दिएको छैन, सुशासनको नियमित अभ्यासमा समेत धक्का पुगेको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणको उजागरसँगै जोडिएको वर्तमान सरकारप्रतिको आशाको त्यान्द्रो बालकृष्ण खाँणको रिहाइ हुनुअघि नै चुँडिइसकेको छ । किनकी खाणको पूर्पक्षको मुद्दामा उच्च अदालत पाटनले रिहाईको आदेश दिएको छ । मंसिर २८ गतेको सोही दिन लगभग उस्तै समयमा हत्याको आरोपी एमाले सांसद लक्ष्मी महतो कोइरीलाई महोत्तरी जिल्ला अदालते सफाइ दिएको छ । यी अदालती फैसला हुन् र संयोग हुन् ।
नक्कली शरणार्थी प्रकरणकै बीचमा बालुवाटारको ललिता निवास जग्गा प्रकरण पनि ब्युँतियो । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङको पक्राउसँगै पुनरावृत्ति भएको यो प्रकरणको अनुसन्धान सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र बाबुराम भट्टराईलगायत तत् तत् समयमा निर्णायक ठाउँमा रहेका व्यक्तिमाथि अनुसन्धान गर्ने बाटो खुल्ने गरी आदेश दिएसँगै यो प्रकरणको पनि ढाकछोप सुरु भयो ।
अनुसन्धानका लागि बयान नै लिनुपर्ने पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईको बचाउमा प्रधानमन्त्री आफै लाग्नु भयो । केन्द्रीय अनुसन्धान व्यूरोले बयानको कर्मकाण्ड पूरा गरिनसक्दै सार्वजनिक मञ्चबाट प्रचण्डले भन्नुभयो, ‘बालुवाटार प्रकरणमा माधव नेपाल निर्दोष रहेको पुष्टि भइसक्यो ।’
केही समयपछि त्रिभुवन विमानस्थलको गेटबाहिरबाट आन्तरिक राजश्व अनुसन्धान विभागले ६० किलो सुन बरामद गर्यो । सुनमाथिको अनुसन्धान गर्दै जाँदा गत वर्षको पुसमा प्रधानमन्त्री प्रचण्डको पार्टी नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराकै संलग्नतामा विद्युतीय चुरोट भेपमार्फत् सुन भित्रिएको खुल्न गयो । प्रचण्डले आफ्नो पार्टीका उपाध्यक्षमाथि बात लागिसकेपछि निलम्बन गरेर छानबिन अघि बढाउनुपर्नेमा संरक्षण दिइरहनु भयो, बचाउ गरिरहनु भयो ।
यो बीचमा रेशम चौधरी वा रिगल ढकालको रिहाईदेखि पूर्वलडाकु यमबहादुर अधिकारीलाई सेनापति बनाउने चलखेलसहित गरिएको बढुवासम्ममा प्रचण्डको रुचि केबल विवादित पात्रहरुको बचाउ र उत्थानमा केन्द्रित रह्यो । कहिले आफ्ना मन्त्रीको बचाउ र कहिले छोरीको बचाउ गर्दागर्दै कुन बेला प्रितम सिंहको प्यारमा बहकिएँ भन्ने नै उहाँले पत्तो पाउनु भएन । त्यसैकारण संसद वा संसदीय समितिको मञ्चमा प्रष्टीकरण दिँदैमा कयौँ घण्टा बितिसकेको छ ।
सुशासनको पनि मापदण्ड हुन्छ, खासगरी शासकको मनोवृत्तिले सुशासनलाई निर्देशित गर्छ । त्यही अनुसार कानून बन्ने र कार्यान्वयन हुने हुन्छ, तर प्रचण्डको पहिलो वर्ष अनियमितता वा अपराधमा मुछिएकाहरुको बचाउमा केन्द्रित हुँदा कुशासनले प्रश्रय पाएको छ ।
प्रतिक्रिया