क्रिश्चियन धर्मावलम्बीहरु क्रिसमस पर्व मनाउँदै

९ पुस २०८० काठमाडौं । नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरुले उल्लासका साथ क्रिसमस पर्व मनाउँदैछन् ।
अंग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले आज क्रिसमस मनाइरहेका हुन् ।
दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ ।
क्रिसमसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले क्रिसमसका अवसरमा शुभकामना सन्देश जारी गर्दै यस पर्वले सबै नेपालीबीच आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ बनाउँदै समुन्नत नेपाल निर्माण गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शुभकामाना सन्देशमा क्रिसमस पर्वले बृहत्तर राष्ट्रिय हित र मानव जातिको कल्याणका निम्ति सबैलाई प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ । क्रिसमसका अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।
प्रतिक्रिया