प्रहरीद्वरा आरती साह मृत्यु प्रकरणमा उनका पति मोतीबाबु साह पक्राउ
९ पुस २०८० काठमाडौं । आरती साह मृत्यु प्रकरणमा उनका पति मोतीबाबु साहलाई प्रहरीले पक्राउ गरेको छ ।
जनकपुरधामको सीताचोकस्थित सनुन होटेलबाट साहलाई धनुषा प्रहरीले पक्राउ गरेको हो । उनलाई आवश्यक प्रक्रिया पुर्याएर कारागार चलान गरिने छ। गत मंसिर २० गते सर्वोच्च अदालतले पति मोतीबाबुलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको थियो ।
यसअघि असोज १८ मा उच्च अदालत जनकपुरले उनीसहित उनका बुबा मदनमोहनलाई समेत साधारण तारेखमा रिहा गर्ने फैसला गरेको थियो ।
जिल्ला अदालत धनुषाको फैसला बदर गर्दै उच्च अदालत जनकपुरले पुर्पक्षका लागि थुनामा रहेका आरतीका पति मोतीबाबु र ससुरा मदन मोहन ब्याहुत सुँडीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो ।
सो आदेशविरुद्धको रिटमा सर्वोच्च अदालतले उच्च अदालतको आदेश आंशिक उल्टाउँदै पति मोतीबाबुलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । आरती गत जेठ ७ गते जनकपुरधाम उपमहानगरपालिका ९ थापाचोक स्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।
उनलाई परिवारजले उपचारका लागि भन्दै काव्या अस्पताल लगेपछि प्रहरीले थाहा पाएको थियो । माइती पक्षले आरतीको दाइजोको कारण श्रीमान् र ससुराले हत्या गरेको आरोप लगाउँदै आएको छ ।
प्रतिक्रिया