मीनबहादुर समूहले १ सय ३८ किलो सुन भित्र्याएको छानबिन समितिको निष्कर्ष

८ पुस २०८० काठमाडौं । गत मंसिर २२ मा १४ केजी सुनसहित पक्राउ परेको सुन तस्करीको गरोहले १ सय ३८ केजी सुन नेपाल भित्र्याइसकेको छानबिन समितिले निष्कर्ष निकालेको छ ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट १४ केजी सुनसहित पक्राउ परेका चन्द्र घले समुहले १ सय ३८ केजी सुन नेपाल भित्र्याइसकेको छानबिन समितिले निष्कर्ष निकालेको हो । समितिले छानबिन प्रतिवेदन सार्वजनिक गर्दै १ सय ३८ केजी सुन नेपाल भित्र्याएकोमा १४ केजी मात्रै बरामद गरिएको जनाएको छ ।
समितिका अनुसार मीनबहादुर घलेले दुबईमा बस्ने गरेका भारतीय नागरिकसँग मिलेर सुन तस्करी गर्ने गरेका थिए। समितिले गरेको अनुसन्धानका क्रममा मीनबहादुरले दुबईमा रहेका अंकित अग्रवाल नाम गरेका व्यक्तिसँग सम्पर्क गरी नेपालमा सुन तस्करीको चाँजोपाँजो मिलाएका थिए ।
मीनबहादुर र चन्द्रका साथै कृष्णकुमार श्रेष्ठले दुबईबाट सुन लिएर आउने गरेका थिए । एयरपोर्टमा सेटिङ मिलाउन भने दनबहादुर गुरुङलाई प्रयोग गरेको पाइएको छ ।
एयरपोर्टबाट सुन निकाल्न नागरिक उड्ययन कार्यालय, गौचरका एसी मेकानिक राधाकृष्ण श्रेष्ठ, कार्यालय सहयोगी लेकबहादुर तामाङ, करारका पूर्व कर्मचारी रमेश देउला, एसी शाखामा काम गर्ने कार्यालय सहयोगी अनिल श्रेष्ठ र प्लम्बर शेरबहादुर बस्नेतले भूमिका खेलेको समितिको निष्कर्ष छ ।
एयरपोर्टबाट कटाएको सुन रमेश, राधाकृष्ण र अनिलले काठमाडौंको टोखा नगरपालिका, बानियाटारसिथतर सूर्यदर्शन हाइटमा रहेको दनबहादुरको घरमा पुर्याउने गरेका थिए ।
प्रतिक्रिया