एनसेलको शेयर खरिद विक्री अस्वभाविकः प्रधानमन्त्री प्रचण्ड

३ पुस २०८० काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको शेयर खरिद बिक्री अस्वभाविक रहेको बताउनुभएको छ ।
सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले एनसेलको वैदेशिक लगानी शेयर खरिद बिक्री, कर राजश्व, विदेशी मुद्रा सटही समेतको विषयमा प्रमाण तथा कागजात संकलन भइरहेको बताउनु भयो ।
उहाँले अध्ययन तथा छानबिन समितिको यकिन राय सुझावसहित प्रतिवेदन प्राप्त भएपछि आवश्यक कदम चाल्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले एनसेल प्रकरणमा कतै, कसैबाट कानून विपरितका काम कारबाही भए गरेको पाइए कानूनबमोजिम हदैसम्मको कारबाही हुने बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले एनसेल शेयर खरिद बिक्री सहज नलागेकै कारण सरकारले अध्ययन समिति बनाएको स्पष्ट पार्नुभयो । सरकारले पूर्व महालेखा परीक्षण टंकमणि शर्माको संयोजकत्वमा छानबिन समिति बनाएको छ।
एनसेलमा रहेको आजियाटाको स्वामित्वको ८० प्रतिशत शेयर नेपाली साझेदार सतिशलाल आचार्यकै युकेस्थित स्पेक्ट्रलाइट युके लिमिटेड कम्पनीलाई बिक्री गरिएको थियो। अजियाटाले एक अर्ब ३६ करोड अमेरिकी डलरमा खरिद गरेको शेयर बिक्री भने ५० करोड अमेरिकी डलरमा गरेको सूचना सार्वजनिक गरेको थियो।
प्रतिक्रिया