त्रिविको ४९औं दीक्षान्त समारोह आज
२ पुस २०८० काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आज ४९ औँ दीक्षान्त समारोहको आयोजना गर्दैछ ।
यो वर्ष १२ हजार ४१५ जना विद्यार्थी दीक्षित हुन लागेको त्रिविका सूचना अधिकारी योगेन्द्र दाहालले जानकारी दिनुभयो । २०७९ को असारदेखि २०८० को असार मसान्तसम्म पास भएका ७३ हजार विद्यार्थीमध्ये उक्त सङ्ख्यामा दीक्षित हुन लागेका हुन् ।
अनलाइनमार्फत आवेदन दिएका विद्यार्थीहरू दीक्षित हुन लागेको हुन् । यो वर्ष एमफील, स्नातकोत्तर तह र स्नातक तह गरी २६ जना विद्यार्थीलाई विभिन्न विभूषणबाट विभूषित गराइँदै छ । उनीहरूलाई राष्ट्रपतिबाट प्रमाणपत्र तथा सम्मान पत्र प्रदान गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै एमफील र पीएचडी तर्फ गरी ११३ जना विद्यार्थीलाई समेत राष्ट्रपतिबाटै प्रमाणपत्र तथा सम्मान पत्र प्रदान गरिने सूचना अधिकारी दाहालले बताउनुभयो । दीक्षान्त समारोहमा ५६ वटा स्टलहरू राखिएको छ । त्यही स्टलहरूबाट विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिनेछ ।
एमफील पीएचडीका विद्यार्थी र पदक पाउने विद्यार्थीलाई भने स्टलहरूबाट नभई राष्ट्रपतिको हातबाट नै पदक प्रदान गरिनेछ । यो वर्षदेखि सबैभन्दा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रदान गरिँदै आएको ‘कुलपति पदक’ भने बन्द गरेको छ ।
उक्त पदक बाहेक अन्य पदकहरू भने यथावत् रहेको त्रिविले जनाएको छ । समारोह दशरथ रङ्गशालामा हुनेछ ।
प्रतिक्रिया