रौतहटमा वन फडानी बढ्दै, वन कार्यालय मुकदर्शक ! (भिडियो रिपोर्टसहित)
१ पुस २०८० रौतहट । रौतहटका विभिन्न स्थानमा राष्ट्रिय वन फडानी गरेर घर बनाउने क्रम बढ्न थालेको छ । गुजरा, बृन्दावन, फतुवा विजयपुर, चन्द्रपुर लगायतका स्थानीय पालिकाका सयौं विघा जमिन अतिक्रमण भएका छन् ।
प्राकृतिक हिसावले संवेदनशील चुरे क्षेत्र विनास गरेर पक्की घरसहित हजारौं घर टहरा बनिरहँदा वन कार्यालय भने मुकदर्शक बनेर बसेको छ ।
रौतहटमा सरकारी वन मासेर घरटहरा बनाउने क्रम बढेको छ । जिल्लाको उत्तरी भेगमा पर्ने रंगगपुरको सरकारी वन अतिक्रमण गरी एक सय ६ विघा जग्गा व्यक्तिका नाममा दर्ता भएका छन् ।
रौतहटमा २९ हजार चार सय हेक्टर वन क्षेत्रमध्ये १० हजार हेक्टर चुरे क्षेत्र अतिक्रमणको जोखिममा छ । अहिले करिब एक सय हेक्टर मासिएको स्थानीयको अनुमान छ । अतिक्रमण हुनेमा सबैभन्दा बढी क्षेत्र बृन्दावन नगरपालिकाको छ । केही वर्षअघि सुकुम्बासीको नाममा जंगल फडानी गरेर टोल नै बनाइएको थियो ।
अहिले त्यो टोलबाट पनि कतिपयले रुख काटेर खेतीपाती गर्न थालेका छन् । सुकुम्बासीको नाममा मनोमानी हुनुमा जिल्ला वन कार्यालय, नापी विभाग र जनप्रतिनिधिको मिलेमतो रहेको स्थानीयले आरोप लगाएका छन् ।
जिल्ला वन कार्यालय निस्कृय भएका कारण संरक्षणमा चुनौती आएको जनप्रतिनिधि आरोप लगाउँछन् । वन क्षेत्र मानव अतिक्रमणको चपेटामा परे पनि नियन्त्रणको प्रयास नभएको जनप्रतिनिधिको गुनासो छ ।
वन जङ्गल क्षेत्रमा रुखको जरामा आगो लगाएर सुकाउने र अतिक्रमण गरी खेतीपाती, घरटहरा बनाएर कब्जा गर्ने गरिएको छ । वन कार्यालय अतिक्रमण हटाउनका लागि प्रयास भइरहे पनि पर्याप्त हुन नसकेको स्वीकार्छ ।
त्यसो त अव्यवस्थित बसोबासी र भूमिहीनका लागि वननै आश्रय स्थल हुँदा वन अतिक्रमण रोक्न कठिन देखिन्छ । कठिन भनेर सम्बन्धित निकायले हात बाँधेर बस्दा समस्याको समाधान हुँदैन ।
प्रतिक्रिया