नारायणगढ मुग्लिन सडकखण्ड पुस ७ गतेदेखि दैनिक ४ घण्टा बन्द हुने

१ पुस २०८० धादिङ । नारायणगढ मुग्लिन सडकखण्ड पुस ७ गतेदेखि दैनिक ४ घण्टा बन्द हुने भएको छ ।
तुइन खोलामा पुल निर्माणका लागि पहाड काट्ने प्रयोजनका लागि पुस ७ गतेदेखि ३ हप्तासम्म हरेक दिन विहान ११ बजेदेखि ३ बजेसम्म सडक बन्द गरिने सडक आयोजनाका इन्जिनियर कृष्ण आचार्यले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको सरोकारवालाहरुको बैंठकले तीन हप्ता सडक बन्द गरेर पहाड काट्ने र पुलका लागि फाउण्डेशन तयार गर्ने निर्णय गरेको हो । गत बर्ष पनि त्यो खण्डमा पुल निर्माणका लागि पुस ५ गतेबाट सडक बन्द गरेर पहाडको भित्ता काट्ने काम गरिएको थियो ।
अन्यत्र पहाड काटेर पुलहरू धमाधम बने पनि तुइन खोलाको मुग्लिनतर्फको भागमा कडा चट्टान भेटिएपछि आयोजनाले विस्फोट गराएर मात्रै पहाड काट्न सकिने निष्कर्ष निकालेको थियो । तर स्थलगत अध्ययनपछि प्राविधिकहरुको सल्लाहअनुसार फरक प्रविधिको प्रयोग गरेर चट्टान काट्न लागिएको आयोजनाले जनाएको छ ।
गत बर्ष झण्डै तीन महिना तुइन खोलाको पहाडमा सडक बन्द गरेर ६० मिटर अग्लो ठाउँबाट चट्टान काट्ने प्रयास गरिएको थियो । करिब ३० प्रतिशत चट्टान फुटाएपछि काम रोकिएको थियो ।
यो सडक खण्डमा १९ वटा पुल बन्ने योजना भए पनि हालसम्म ९ वटा पुलमात्र सञ्चालनमा आएका छन् । ८ वटा पुल आगामी दुई महिनाभित्र सञ्चालन गर्ने तयारी छ ।
प्रतिक्रिया