Main News

जनकपुरधाममा सीता–राम विवाह पञ्चमी महोत्सव मनाइँदै

हिमालय टिभी
२०८० पुष १ गते १३:५७
जनकपुरधाममा सीता–राम विवाह पञ्चमी महोत्सव मनाइँदै

१ पुस २०८० धनुषा । आज मार्ग शुक्ल पञ्चमी, जनकपुरधाममा धुमधामसँग सीता(राम विवाहपञ्चमी महोत्सव मनाइँदैछ ।

मंसिर २६ गतेबाट सुरु भएको सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको आज छैठौं अर्थात आज मुख्य दिन हो । त्रेता युगमा मर्यादा पुरुषोत्तम राम र आदर्श नारी सीताको विवाह प्राचीन मिथिलाको राजधानी जनकपुरमा भएको विश्वास गरिन्छ ।

त्यसैले राम जानकीको डोलालाई स्वंम्बर गरी वैदिक परम्परा अनुसार विवाह गर्ने प्रचलन अहिले पनि छ । आज दिउँसो साधुशन्तको अगुवाईमा राम मन्दिरबाट भगवान रामको डोला र जानकी मन्दिरबाट सीताको डोला निस्केर जनकपुरको ऐतिहासिक रंगभूमि मैदान बाह्रविघामा पुगेपछि स्वयम्बर गरिन्छ ।

राम मन्दिरका महन्थ रामगिरी छोरा पक्ष रामका बुबाको भूमिकामा हुन्छन् भने जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णव छोरी पक्षको नेतृत्व गर्दै सीताकी बुबा राजा जनकको भूमिकामा हुन्छन् ।

स्वयम्बर पछि दुवै डोला नगरपरिक्रमा गरी जानकी मन्दिरमा पुगेपछि साँझदेखि वैदिक परम्परा अनुसार राम र जानकीको विवाह सुरु हुनेछ । मैथिली परम्परा अनुसार रातभरी राम(जानकीको विवाह हुने गर्दछ । स्वयम्बर र विवाह हेर्न ठूलो संख्यामा श्रद्धालु भक्तजन जनकपुरधाम पुगेका छन् ।

आज छैटौं दिन रामा(जानकीको विवाह पश्चात भोलि रामकलेवा गरी विधिवत रुपमा सीता(राम विवाहपञ्चमी महोत्सव समापन हुनेछ । रामकलेवामा जन्तीका रुपमा आएका श्रद्धालु भक्तजनलाई मिष्टान मिथिला भोजन गराई दक्षिणा दिएर विदाइ गर्ने चलन छ । विवाहपञ्चमीको अवसरमा मधेश प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *