सात वर्ष बितिसक्दा पनि बनेन ओदाल खोलामा पुल (भिडियो रिपोर्टसहित)
३० मंसिर २०८० कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका(१ पहरियास्थित ओदाल खोलामाथि निर्माणाधीन पक्की पुलको काम अलपत्र छ । निर्माण सुरु भएको सात वर्ष बितिसक्दा पनि पुल तयार नहुँदा स्थानीयले सास्ती भोगिरहेका छन् ।
यो ओदाल खोला हो । यहाँ पुल नहुँदा सुन्दरीफाँटा, दोमिल्ला लगायतका ठाउँका नागरिकलाई विद्यालय, अस्पताल पुग्न मात्र होइन, नगरपालिका कार्यालय पुग्न पनि समस्या छ । वर्षामा उर्लिने भेलका कारण त उनीहरुको आवतजावत् नै बन्द हुन्छ । नागरिकले पुल बनाइदिन गरेको आग्रहपछि २०७३ सालमा यहाँ पुल निर्माण सुरु भयो । तर, सात वर्ष भयो, सम्पन्न भएको छैन ।
२०७३ भदौ १७ गते थेगिम गाल्वा जेभीले पाँच करोड ४७ लाखमा ओदाल खोलाको पुल निर्माणको ठेक्का पाएको थियो । २०७४ फागुन १५ गते पुल निर्माण गरिसक्नु पर्ने थियो । तर पटक पटक म्याद थप गर्दा पनि अहिलेसम्म पूल तयार भएको छैन । पछिल्लो पटक म्याद थप गरेर २०७८ चैत ३० गते काम सक्नु पर्ने भए पनि अझै निर्माण सम्पन्न भएको छैन ।
दुईवटा स्पान निर्माण गर्नुपर्नेमा ठेकेदारले अहिलेसम्म एउटामात्र स्पान बनाएको छ । पुल निर्माणमा ढिलासुस्ती भइरहँदा ठेक्का रद्द गर्ने तयारीमा सडक डिभिजन कार्यालय पुगेको छ ।
प्रतिक्रिया