तेस्रो पटक समयावधि थप्दा पनि ८५ प्रतिशत मात्रै काम (भिडियो रिपोर्टसहित)
२९ मंसिर २०८० कैलाली । तेस्रो पटक थप गरिएको समयावधि सकिए पनि धनगढी मुख्य बजार क्षेत्रको सडक निर्माणको काम पूरा हुन नसक्दा नागरिक आक्रोसित छन् ।
एसियाली विकास बैंकको ऋण सहयोगमा सरकारले धनगढीमा मुख्य बजारसहित नगरभित्र साढे १० किलोमिटर लामो सडकको स्तरोन्नतिका लागि ठेक्का लगाएको थियो । तर, ठेक्का पाएको कालिका कन्स्ट्रक्सनले तीन पटक म्याद थप्दा पनि ८५ प्रतिशतमात्रै काम सकेको छ ।
ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्सनले चौथो पटक म्याद थप्ने प्रक्रिया अघि बढाएको छ । २०७७ सालमा दुई वर्षभित्र सडक निर्माणको काम सक्ने सम्झौता भए पनि ठेकेदारले विभिन्न बाहाना बनाएर म्याद थप गरिरहेको छ । तेस्रो पटक थपिएको म्याद गत कात्तिकमा सकिएको हो ।
क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत धनगढीमा ७६ करोड ९० लाख ७६ हजार रुपैयाँ लागतमा फुटपाथ, नाली र सडक बत्ती भएको आधुनिक सडक निर्माण भइरहेको छ । तर, निर्माण कार्यको गति सुस्त हुँदा अहिले धनगढीका स्थानीय दैनिक धुलाम्मे र खाल्डाखुल्डी भएको सडकको यात्रा गर्न बाध्य छन् ।
मुख्य बजार क्षेत्रमा नाली निर्माणको काम पूरा भएर अहिले भरान गर्ने र बीचमा मिडियन निर्माण गर्ने काम भइरहेको छ । क्षेत्रीय सहरी विकास आयोजना कार्यालय धनगढीले मुख्य बजारमा विद्युका पोलको मापदण्डमा प्राविधिक समस्या देखिएकाले पनि सडकको काम केही प्रभावित भएको जनाएको छ । अहिले अन्य क्षेत्रमा ८५ प्रतिशत काम सकिएको छ भने बजार क्षेत्रको प्रगति ६० प्रतिशतमात्र छ ।
दश दशमलब ६ किलोमिटर सडक निर्माणका लागि तेस्रोपटक थप गरिएको अवधि गत १४ कात्तिकमा सकिएको छ । अहिले निर्माण कम्पनीले चौथो पटक म्याद थपको प्रक्रिया अघि बढाएको छ । तर, कामको गति हेर्दा चौथो पटकको म्यादमा पनि नसकिने भन्दै स्थानीय आक्रोशित छन् ।
प्रतिक्रिया