अर्थतन्त्र चलायमान हुँदै गएको अर्थमन्त्री महतको दाबी
२७ मंसिर २०८० काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले सरकारले गरेका सुधारका प्रयासले अर्थतन्त्र चलायमान हुँदै गएको दाबी गर्नुभएको छ ।
आज पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री महतले आर्थिक क्रियाकलाप बढ्दै गएको दाबी गर्नुभएको हो । तर अर्थमन्त्री महतले दाबी गरेजस्तो बजारमा आर्थिक क्रियाकलाप भने बढेको छैन।
जसका कारण सरकारले लक्ष्य अनुसार राजस्व उठाउन सकेको छैन। यो आर्थिक वर्ष आजको दिनसम्म ३ खर्ब ४२ अर्ब रुपैयाँ मात्र राजस्व संकलन भएको छ।
यो कुल लक्ष्यको २४ प्रतिशत मात्र हो। मन्त्री महतले अर्थतन्त्रलाई थप चलायमान बनाउन आर्थिक र बजेट प्रणाली सुधारका कार्यक्रमलाई अझ विस्तार गरिने बताउनुभयो ।
निजी क्षेत्रसँग समन्वय कायम गरी अर्थतन्त्रमा देखिएको सकारात्मक अवस्थालाई उपभोग र लगानीमा प्रतिबिम्बित गराउने उहाँको भनाइ छ ।
मन्त्री महतले सरकारी लगानीमा विद्यमान अवरोध फुकाउने र युवाहरुलाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्दै अपेक्षित आर्थिक वृद्धिदर हासिल गर्न जोड दिने बताउनुभयो ।
प्रतिक्रिया