Main News

नक्कली प्रहरीको बिगबिगी आम नागरिक अन्योलमा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० मंसिर २६ गते १५:०९
नक्कली प्रहरीको बिगबिगी आम नागरिक अन्योलमा (भिडियो रिपोर्टसहित)

२६ मंसिर २०८० काठमाडौं । प्रहरीको भेषमा आएको व्यक्ति देख्दा ढुक्क होइन शंका गर्नुपर्ने समय आएको छ । हुन त कतिपय सक्कली प्रहरी नै अपराधमा संलग्न नभएका होइनन् । तर अपराधी नै प्रहरीको भेषमा देखिन थालेपछि शंका त हुने नै भयो ।

बर्दी, परिचय पत्र र नक्कली हतियार भिरेर सक्कली प्रहरी जस्तै बनेर उनीहरु तपाईंको सहजताका लागि भन्दै अपराध गरिरहेका हुनसक्छन् । यस्ता घटना बढ्दै गएका छन् ।

पछिल्लो समय चोरी तथा लुटपाटमा संलग्नहरु नै नेपाल प्रहरीको नक्कली कार्ड र पोशाक नै बनाएर हिड्ने गरेका घटना बढेका छन् । पछिल्लो पाँच वर्षमा प्रहरीले ३० जना नक्कली प्रहरीलाई पक्राउ गरिसकेको छ । बागमती प्रदेशमा सबैभन्दा बढी दश जना पक्राउ परेका छन् ।

नक्कली प्रहरी बनेर भएका केही अपराधका उदाहरण हेरौं

नाम विश्व मल्ल
पक्राउ मिति : २०८० कार्तिक १४
आफूलाई घुमुवा प्रहरीको परिचय दिएर काठमाडौंको गल्कोपाखामा सर्वसाधारणको खानतलासी गर्दै रकम अशुली गर्दै गर्दा रंगेहात पक्राउ परेका मल्ल अहिले थुनामा छन् । प्रहरीको नाममा ७ वर्षदेखि ठगी गर्दै आएका मल्लबारे प्रहरीले लामै अनुसन्धान गर्यो ।

नाम कुमोदकुमार साह
पक्राउ मिति : २०८० भदौ ८ गते
सिरहाको सीमाक्षेत्र आसपासका व्यापारीसँग नेपाल प्रहरीको सई हुँ भन्दै नक्कली पेस्तोल देखाउँदै रकम असुल्ने काम गरिरहेका बेला कुमोद कुमार साह पक्राउ परे । सशस्त्र प्रहरी बलले उनलाई नियन्त्रणमा लिएको थियो ।

नाम सोनम तामाङ
पक्राउ मिति : २०८० साउन १९ गते
२६ वर्षीय सोनाम तामाङ प्रहरी सहायक निरीक्षकको पोशाक र दर्ज्यानी चिन्हमा पक्राउ परे । सडकमा सवारी जाँच गरिरहेका तामाङलाई देखेर ड्युटीमै खटिएका प्रहरी नै अलमलमा परे । उनलाई अभिवादन नै गरेर आफुहरुको डिउटी भएको बताउने प्रहरीलाई सवारी चापका कारण हेडक्वार्टरबाट आएको जवाफ दिएका तामाङबारे सोधपुछ हुँदा उनी नक्कली भएको पत्ता लाग्यो ।

नक्कली परिचयपत्र बोक्ने र प्रहरीको पोशाक लगाएर ठगी गर्नेको फेहरिस्त लामो छ । जसका कारण आम नागरिकलाई सक्कली र नक्कली प्रहरी चिन्नसमेत गाह्रो हुने अवस्था बनेको छ ।

कतिपयले त प्रहरी अधिकृतसँग खिचिएको तस्बिर देखाएरसमेत ठगी गर्ने गरेका छन् ।

नक्कली सुरक्षाकर्मी बन्नेहरुले सर्वसाधारणलाई खानतलासी लिने र कागजात नभेटिएको वा प्रक्रिया नपुगेको भन्दै पैसा असुल्ने गरेका छन् । कतिपय ठाउँमा सक्कली प्रहरीले समेत यस्तो गतिविधि गर्दा आम नागरिक सक्कली र नक्कली प्रहरी छुट्याउन नसक्ने अवस्थामा छन् । यसका लागि प्रहरी आफै पनि सचेत हुने र ठगी गर्नेहरुविरुद्ध कडा निगरानी गर्ने काममा सक्रिय बन्नुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *